तीतो यथार्थ

By: गण्डकी न्यूज - पुष १६ २०७७ बिहीबार १७:४२-
  • सार्थक खनाल

हो, आजकाल मलाई देशको चिन्ताले निकै सताएको छ। जब हाम्रो देशको सीमानाको प्रश्न उठ्छ तब त झन मेरो राष्ट्रप्रेमको कुनै सीमाना नै रहँदैन । नपत्याए आफै मेरो फेसबुकको प्रोफाइलमा हेर्नोस् न, दिनकै ८–१० वटा पोस्ट #backoffindia भन्दै गरिरहेको छु । ओहो ! एकैछिन पर्खनुस् है, मेरो मन पर्ने हिन्दी सिरियल पनि यही समय आएछ । खैर Youtube छँदै छ नि, पछि हेरौँला । अँ, साँच्चै म के भन्दै थिएँ भने, हाम्रो जमिनमा भारतले कहाँ बाटो बनाउन मिल्छ त नि ‘Routine of Nepal Banda’ ले त त्यो जमिन हाम्रो भनिसक्यो !

यो लकडाउनले पनि गर्नु गरेको छ । किनेर खान्छु भन्दा पनि प्याज, गोलभेडा लगायत मलाई मन पर्ने तरकारी पनि पाइएको छैन बजारमा । ईन्डियाबाट सामान नै आको छैन भन्छन् पसलको दाइले । धन्न, अहिलेसम्म त त्यति अभाव भएको छैन । अब सरकारले पनि ईन्डियाबाट सामान ल्याउनको लागि अलि कसरत गर्नुपर्यो । ईन्डियाबाट सामान नै नआए त अस्तिनै नाकाबन्दी गर्दाको जस्तो भैहाल्छ नि । अब यस्तो कुरा खुल्लम् खुल्ला गर्न पनि भएन । हाम्रै देशमा उत्पादन गर्नुपर्छ भन्ने पोस्ट गरिसक्याछु साँच्चै । तर कसलाई पो फुर्सद छ र ? घर अगाडि मस्तसङ्ग सरसामान आइहाल्छ किनेर खान सकिहालिन्छ। किन बेकारको दुख गर्ने हो र !

लेख्न त मैले नि निकै बेजोड लेखे झैँ लाग्याथ्यो नाकाबन्दी ताका ‘आत्मनिर्भरता’ को बारेमा । नेपालमा नै कृषि उत्पादन बढाउन पर्छ भन्दै चर्चा नगरेको नि हैन । तर के गर्नु ? आफूले गर्न सक्ने त म गरिआएको छु नि । किसानहरु उत्पादन नै गर्न सक्दैनन् । तेत्रो स्टाट्स लेखेर बिदेशमा हैन देशमा नै केही गरौँ भनी विभिन्न ग्रुपमा पोस्ट गरे पनि युवा वर्ग बिदेश जान छोडेनन् । अब त म थाकिसकेँ । त्यही पनि वीर गोर्खालीको सपूत भएकोले हार नमानी आझै ४-५ वटा ग्रुप बनाएको छु देशको भविष्यको बारेमा चिन्ता व्यक्त गर्न । आखिर हामीले नगरे कसले गर्ने हो र ?

एउटा कुरा भनि हालेँ, यो चाहिँ गोप्य राख्नुहोला । हुन त हामी नेपाली एकदम भावुक छौँ र वीर भएको भएर पनि होला हामी आक्रोशमा चाँडै आउँछौं । गोप्य चाहिँ किन भनेको भन्दा यदि यस्तो कमजोरीको बारेमा थाहा पाए भने त हामी बौद्धिक बर्गको भनाई नै कसले नै सुन्छ र ? नाकाबन्दी ताकाको जोश देख्दा त साँच्चिकै केही हुन्छ कि भन्ने नसोचेको नि हैन तर नानीदेखि लागेको बानी कहाँ जान्छ र ? हामी यस्तै त हो नि ब्रो ! भन्दै भारतबाट झन बढी सामान आयात गर्न थाल्यौँ । हुन त, हामीले आफ्नै देशमै उत्पादन गर्न नसक्ने चाहिँ होइन तर छिमेकी रास्ट्रको अर्थतन्त्रमा ह्रास आउँछ कि भन्ने चिन्ता जो छ हामीलाई । आखिर वीर गोर्खालीको मन हो अरुको कुभलो त कहाँ चिताउन सक्छौ र ?

जे होस् भारतले पनि हाम्रो भलो नचिताउने चाहिँ होइन । लकडाउनमा हामीलाइ होमवर्क पो गर्न दिएको सीमानाको प्रसङ्ग उठाएर । ठूल्दाइको कर्तब्य पालना त गर्न पर्यो नि । यही मौकामा इतिहासमा रुचि नै नहुनेले पनि सुगौली सन्धी भन्ने त जान्न पाए । आफ्नै देशका बासिन्दा भए पनि न त हामी बौद्धिक बर्गको न त सरकारको नै नजर परेकाको बारेमा एकछिन सोच्न त बाध्य भयौँ । हराएको अस्तित्व हाम्रो सामु उजागर त भयो ।

ओहो ! गफै गफमा मैले त भुल्न पो पुगेछु, अब त नयाँ ग्रुपमा पोस्ट जो गर्नु छ । आउनुस् हजुर पनि, अहिले ट्रेन्ड नै फेसबुकको छ । म लिन्क शेयर गर्छु लाइक र कमेन्ट गर्न चाहिँ नबिर्सिनु नि, आखिर मेरो यत्रो कुरा जो हजुरलाइ भनेको छु।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर