मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला ? मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा ध्यान पुर्याउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
क्यान्सर लाग्ने मुख्य तत्व कार्सिनोजेनिक यस्ता मासुबाट उत्पादन भई दीर्घकालीन रुपमा मानिसमा क्यान्सर हुने उनीहरु बताउँछन् । विगत १७ वर्षदेखि क्यान्सर विशेषज्ञका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत डा. भोलाप्रसाद रौनियार रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र रसायन मिसाएर पकाउँदा कार्सिनोजेनिक उत्पादन भई स्वास्थ्यलाई हानि पुग्ने बताउँछन् ।
यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउन सक्ने हुँदा यस्ता मासु नखान उनको सुझाव छ । धुवाँमा सेकाएका सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाई बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्ने उनले बताए ।
त्यसो त बढी मासु प्रयोग हुनेबेला मानिसले सूर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्छन् । अलग अलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने डा रौनियारले बताउनुभयो । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने उनको भनाइ छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुवै तरिका हानिकारक हुन् ।
पछिल्लो समय युवा पिँढीमा कोलोरेक्टल क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने गरेको रौनियारले बताए । यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै रहेका छन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछन् ।
चुरोटले अन्न नलीदेखि मलद्वारसम्म क्यान्सर बनाउने उहाँको भनाइ छ । दसैँको बेला मासु प्रयोग गर्दा, उमालेर र सामान्य तरिकाले पकाएर मात्रै खानुपर्ने रौनियारको सुझाव छ । उनले मासु बढी खाँदा रेसादार वस्तुको सेवन पनि बढाउनुपर्ने बताए ।
फलफूल, सागसब्जी बढी खानुपर्ने बताउँदै उनले पाएसम्म ब्रोकाउलीको प्रयोग बढाउन सुझाव दिए । आज खाएर भोलि क्यान्सर नहुने भएपनि सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ । समयमै क्यान्सर रोग पत्ता लागेमा उपचार सम्भव छ ।
भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा. गुरुशरण साह मासुको खपत कम गर्न सुझाव दिए । उनले भने ‘सम्भव हुन्छ भने मासु नखाँदा नै राम्रो हुन्छ, तर खानैपर्ने भएमा पनि माछा र कुखुराको जस्ता सेतो मासु खानु राम्रो हो ।’
मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने बताउँदै उनले हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुन सक्ने खतरा बढी हुने जानकारी दिए । ‘मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुनेहुँदा सिधै आगोमा पोल्दा उच्च तापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामिडिएस उत्पन्न हुन्छ जुन क्यान्सर रोग गराउन सहयोग हुन्छ’ डा. साहले भने ।
भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी रातो मासु विस्थापित नै गर्नुपर्ने बताउँछन् । मासु खानै पर्दा ताजा खानुपर्ने उनको सुझाव छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुवै तरिका हानिकारक हुने उनले बताए । फ्रिजमा राख्दा कडा सङ्क्रमण फैलिन सक्ने उच्च खतरा हुने र भुटेर राख्दा अपच र पेटमा अन्य समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ ।
मासु एक्लैले भन्दा यसका साधन र साध्यका रुपमा मदिरा र धूमपान अरु खतरनाक हुन्छ । अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घन्टा लाग्छ भने मासुका लागि २४ घन्टासम्म लाग्ने अधिकारीले बताए ।
नेपालमा अन्य समयमा आवश्यक मात्रामा मासु नखाने भए पनि दसैँको बेला ऋण धन गरेर भए पनि मासु खानैपर्ने र धेरै खाने पुरानो प्रचलन कायमै रहेको छ । स्वदेशमै उत्पादन बढाउन सकिने कुखुरा र माछाभन्दा आयातित खसी, बोका, राँगा र बङ्गुरको मासुको खपत चाडबाडमा अधिक हुने गर्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-