- डा अंशुमली जोशी
दशैं आयो खाउँला पिउँला भन्ने जमाना त गइसक्यो । किनभने अहिले हैसियत हुनेका लागि खान र पिउन दशैं आउन पर्दैन । तर, दशैंसँग जोडिएका केही कुरा अझै यथावत् छन् । अरु समय खाएर वा पिएर पनि आफ्नो काममा चलायमान भइरहनुपर्छ भने दशैंमा आराम गर्ने गरिन्छ ।
त्यसैगरी अरु बेला भन्दा दशैंमा मासु, गुलियो र चिल्लो पदाथएको सेवन भने बढी नै हुन्छ । साथै मदिरा को सेवन पनि बढी हुने गर्छ। यसको प्रत्यक्ष असर मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीहरुलाई पर्दछ । यी जीवनशैलीसँग गाँसिएका रोग हुन् ।
मधुमेहका बिमारीहरुले गुलियो र चिल्लो पदार्थ बार्नु पर्ने हुन्छ किनकि यसको प्रत्यक्ष असर रगतको चिनीको मात्रामा देखिन्छ । दशैं र तिहारमा सेवन गरिने खाद्य पदार्थमा गुलियो र चिल्लो को मात्रा धेरै हुने गर्दछ । रोटिहरुमा जस्तै सेलरोटी, फिनी, अनारासा आदिमा चामल, मैदा, घुइ , तेल र चिनीको मात्रा अत्यधिक हुने गर्छ ।
तेल वा घिउमा तारेका खाना वा बोसोजन्य उत्पादन (डाल्डा, नौनी घिउ , तर, क्रिम , समोसा, चप, पुरी , पिजा ) आदि सेवन गर्नु हुदैन । भोजमा चिउराको प्रयोग बढी हुने गर्छ । च्युराको प्रयोग पनि कम गर्नु पर्दछ। माछा मासुमा रातो मासु (जस्तै खसी बोका, राँगा, बँदेल, भेंडा , च्यांग्राको सेवन बढी हुन्छ। भुटनको प्रयोग पनि बढी हुने गर्दछ। रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ। यसले युरिक एसिड पनि बढाउँछ।
रातो मासुको सट्टा सेतो मासु (जस्तै कुखुरा, माछा )आदिको सेवन गर्नुपर्छ। रातो मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ ।
सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रिल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ । विभिन्न अङ्गका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो )आदि पनि मासुको परिकारका रूपमै प्रयोग गरिन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’,‘‘डी’,‘‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ ।
आईरन, जिङ्क जस्ता खनिजतत्व पनि यी अङ्गमा प्रसस्त मात्रामा पाइन्छ। रातो मासु हाली बनाएको ससेज जस्ता परिकारलाई लामो समय संरक्षण गर्न रसायन (प्रिजरभेटिभ) राखिने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुन सक्छ । छालासहित कुखुराको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ, त्येसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ।
नेवार समुदाय मा अन्डाको प्रयोग सगुन को रुपमा बढी हुने गर्छ। अन्डा को भित्रि पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा बढी हुने हुँदा सेतो भाग मात्रा खानु पर्दछ। मधुमेहीले चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड पटक्कै खान हुँदैन।
यसैगरी, केक, पेय पदार्थ जस्तै कोक, फ्यान्टा, बोर्नभिटा, हर्लिक्स, आइसक्रिम, मह, जाम आदि खानु मधुमेहीका लागि हानीकारक छ। मधुमेहीले स्वास्थ मानिस सरह खान हुने परिकारमा हरिया सागसब्जी, करेला, काउली, बन्दा, रायो, पुदिना, भान्टा, परबल, खुर्सानी, लौका, स्कुस, घिरौंला , कुरिलो, चम्सुर, पालुङ्गो, गोलभेँडा,सलाद, साग, काँक्रो, सेतो मुला, गाँजर, कागती आदि पर्दछन्। मसलाहरूमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ खान कुनै समस्या हुँदैन ।
सुगर फ्री चक्कीले चिनीको जस्तो गुलियो स्वाद दिन्छ तर हानी भने गर्दैन। अझ त्यो भन्दा पनि राम्रो हुन्छ। मिठाईहरु जस्तै लड्डू , निम्किन, पेडा, बर्फी, जेरी आदि खानु हुँदैन। सुगर फ्री भएको भनेता पनि यिनमा चिल्लोको मात्रा बढी हुने गर्छ। मधुमेहीले धुम्रपान बिल्कुल गर्नु हुँदैन। यसले हृदयघात र प्यारालिसिसको सम्भावना धेरै बढाउँछ। मदिरा सेवन पनि कम गर्नुपर्छ। वाइन र बियर को सेवन गर्नु हुँदैन। सेतो मदिरा जस्तै वोड़का, जिन अधिकतम ६० मि लि भन्दा बढी लिनु हुँदैन।
प्रतिक्रिया लेख्नुहोस्:-