स्याङ्जाको चापाकोट नगरपालिका –४ मा सञ्चालन भएको वृहत स्वास्थ्य शिविरमा सात सय २७ जनाले प्रत्यक्ष उपचार सेवा पाएका छन् । गाउँमै विशेषज्ञसहितको सेवा पाइने भएपछि चापाकोटसँगै हरिनास र बिरुवा गाउँपालिकाबाट समेत नागरिकहरू पुगेका थिए ।
खुमा अर्याल फाउन्डेसनले सातौँ स्थापना दिवसको अवसरमा मल्याङकोट स्वास्थ्यचौकी दार्सिङमा शिविर सञ्चालन गरेको हो । चापाकोट नगरपालिकाको समन्वयमा गण्डकी मेडिकल कलेज पोखरा र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा साधारण जाँचदेखि भिडियो एक्स–रे, इको, इसीजी, महिलाका लागि पाठेघर क्यान्सर स्क्रिनिङलगायत सेवा उपलब्ध गराइएको थियो । जटिल समस्या देखिएका बिरामीहरूलाई गण्डकी मेडिकल कलेजमा रिफर गरिएको छ । रिफर भएकालाई औषधिमा पाँच प्रतिशत र सेवामा २० प्रतिशतसम्म छुट रहने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
शिविरमा चापाकोट नगरप्रमुख देवबहादुर खाण (ईश्वर)ले “गाउँ क्षेत्रमा विशेषज्ञसहितक्ल उपचार पुग्दा गाउँका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको” प्रतिक्रिया दिए । यस्तै, फाउन्डेसनका संस्थापक तथा उद्यमी खुमाप्रसाद अर्यालले “गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने अभियान निरन्तर चलाइने” बताए ।
हरेक वर्ष मङ्सिर ५ मा स्थापना दिवसका कार्यक्रम गर्दै आएको फाउन्डेसनले यसपालि पनि गाउँ लक्षित स्वास्थ्य सेवा अभियानलाई निरन्तरता दिएको जनाएको छ ।














