सिद्धार्थ राजमार्गमा गरिएको चेकजाँचका क्रममा पोखराबाट चापाकोटतर्फ जाँदै गरेका एक युवक शनिबार शंकास्पद धातुका गहनासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका –८ दामाचौरका २९ वर्षीय विष्णु विक रहेका छन् । भीरकोट नगरपालिका –२ दहथुमस्थित राजमार्ग चेकिङमा बिलबिनाका गहना बोकेर हिँडिरहेका विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
प्रहरीले विकको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ५ तोला ६ लाल २ पईन्ट (जन्तर १ थान, मोतीमाला ३ थान, धातुको टुक्रा ४ थान) र चाँदीजस्तो देखिने १० तोला ७३ लाल ३ पईन्ट (बाला ६ जोर) बरामद गरेको जनाएको छ ।
उनी सवार लु २९ प ६०१२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद सामग्रीको परीक्षण तथा धातुको श्रोतबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।












