करिब ५० वर्षअघि स्याङ्जाको पेलाकोटमा भएको चोरी घटनामा संलग्न फरार अभियुक्त पक्राउ परेका छन् ।
साविक पेलाकोट गाउँपञ्चायत–२ (हाल गल्याङ नगरपालिका –७, कल्लेरी) बस्ने लालबहादुर रानामगरलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले सोमबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
रानामगरले २०३५ साल वैशाख १५ गते राति दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । सो मुद्दामा २०४५ साल मंसिर १६ गते जिल्ला अदालत स्याङ्जाले उनलाई दोषी ठहर गर्दै १ महिना १५ दिन कैद र ४ हजार ५ सय रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
फैसला पछि फरार रहेका उनलाई लामो अनुसन्धानपछि प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएपछि उनलाई सजाय भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ ।














