Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’

रञ्जन अधिकारी रञ्जन अधिकारी
2021 January 3 मा प्रकाशित
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
ShareTweetSend

‘नेपालभरमा दुई लाख जनालाई बम्पर चिठ्ठा भा’भए परिन्थ्यो त? कोरोना चाहिँ दुई लाखमै लाग्नुपर्ने?’ कोरोना संक्रमणमुक्त पत्रकार जीवन सुवेदी दाइले आफ्नो अनुभव शेयर गर्दै म्यासेञ्जरमा यो वाक्य लेख्नुभयो, असाध्यै घत लाग्यो । साँच्चै, फाइदाको कुरा कहिले पो आफ्नो भागमा पर्नु र? सचेत रहँदा रहँदै यति चाँडै नै कोरोना लागिछाड्यो ।

सहकर्मी पत्रकारहरु आफूलाई संक्रमण भएको सार्वजनिक गरेपछि जहिल्यै फेसबुकमा लेख्थेँ ‘हामी सबै लाइनमै छौं । ढिलो चाँडो मात्रै हो । नलागुन्जेल डराऔं, लागेपछि नडराऔं ।’ नलागुञ्जेल डराएकै हो, लागेपछि झन डर लाग्दो रहेछ । सबै भन्ने कुरा न हुन् । कास्कीमा कोरोना बीमा गराएका ३०३ पत्रकारहरुमध्ये संक्रमित पत्रकारको क्रम संख्यामा म ३१ औं नम्बरमा परेछु । १० प्रतिशत भित्रै नाम मिसियो । अघिल्लो ४ पटकमा सबै नेगेटिभ नतिजा आएको थियो । पहिलो पटक मध्य वैशाखमा धादिङ स्थित घरमा ३७ दिन बसेर फर्कदाँ पत्रकार राम गुरुङ दाइसँगै स्वाब दिएँ । पत्रकार महासंघ मार्फत् पत्रकारको नमुना परिक्षणको क्रममा पहिलो दुई जनामा हामी थियौँ । कोरोनाको आतंक र लकडाउनको त्यो समयसम्म जोगिएका रहेछौं । अन्ततः हामी दुवै जोगिन सकेनौं । राम दाइ सञ्चो हुनु र मलाई संक्रमण हुनु अघिपछि जस्तै भयो ।

कोभिडले पोखराको अवस्था खराब बनाएको बेला मैले अनुभव लिएँ । मंसिर पहिलो साता पोखराको स्थिति भयावह नै बन्यो । म अस्पतालको बेडमा रहँदा पोखरामा एकै दिन ७ जनाको मृत्यु भयो । म उपचाररत अस्पताल गण्डकी मेडिकल कलेजमै ३ जनाले एक दिनमै ज्यान गुमाए । निमोनिया बिग्रेर मेरै उमेर समूहका युवकको समेत निधन भएपछि हंसले ठाउँ नै छाड्यो । त्यसमाथि, ६ अस्पताल डुलाउँदा समेत उपचार नपाएर स्याङ्जाकी धनमाया गुरुङ र कास्कीको अन्नपूर्णमा बस्दै आएका ललितपुरका राजेश कार्कीको निधनको खबर पनि अस्पतालको बेडबाटै पढेँ । पोखरामा भयावह अवस्थामा गुज्रिरहँदा जिएमसीको कोभिड आइसोलेसन बेडमा म कोभिडसँग जुधिरहेको थिएँ ।

परिवारबाट टाढिएको त्यो १५ दिन

अनलाइन विज्ञापन मार्फत ‘चिया सिड्’ अर्डर गरेर खान सुरु गर्नु र कार्तिक २४ गते पेट बिग्रनु एकसाथ भयो । पर्याप्त पानी नखाएपछि कब्जियत हुने रहेछ, पानी धेरै नपिउँदा दिसा गर्न समस्या भएछ भन्ठानेँ । कुन दिनदेखि को बाट संक्रमण भयो आशंका मात्र भयो, पुष्टि भएन । यति चाहिँ प्रष्ट छ, पहिचान भएका कोरोना संक्रमित व्यक्तिबाट मलाई सरेको होइन । कार्तिक २५ गते हल्का रुघा लाग्यो । त्यसपछि स्वाद र गन्ध एकसाथ हरायो । स्वादमा नुनिलो, अमिलो र पिरो चाहिँ थाहा हुन्थ्यो । नत्र, आलु खाएको कि मासु ? तरकारी राखेको कचौरा हेरेपछि थाहा हुने भयो ।

यसअघि, चार पटकसम्म कहिले ट्राभल हिस्ट्री, कहिले कन्ट्याक्ट ट्रेसिङ त कहिले लक्षण देखियो भन्दै शंका लागेर स्वाब परिक्षण गराइसकेको कारण अब त लागेको पक्का नभई गर्दिनँ भनेर बसेको थिएँ । यो पटक कोरोना परिक्षण गर्न मन गरिनँ । मलाई प्रायः वर्षेनी असोज कार्तिकको समयमा रुघा र ज्वरोले थलिने भएकाले बिरामी हुन खोजेको भान भयो । कार्तिक २९ गतेचाहिँ पक्का कोरोना होला भन्ठानेँ । यसबीचमा भतिज र सहकर्मी मित्रको बर्थडे देखि अफिसियल कामको सिलसिलामा गाडीको यात्रामा पनि सामेल भएको थिएँ । स्वाद र गन्ध हराएपछि भने छोरोलाई जुठो खुवाइनँ । मास्क छाडिनँ र सकेसम्म दोस्रो व्यक्ति भन्दा परै आफूलाई राखेँ । त्यसैकारण पनि मबाट सबै परिवार जोगिए, दर्जनौं साथीभाइलाई संक्रमण भएन भन्ने लाग्छ ।

कार्तिक २९ गते श्रीमति (सुचिता) सँगकै सल्लाहमा डेरा छाड्ने निर्णयमा पुगेँ । साना छोराछोरी छन् । घरभेटी बुवाआमा निकै नै बृद्धबृद्धा हुनुहुन्छ । उहाँहरु दुवै घर भन्दा हस्पिटल बढी बस्नुपर्ने अस्वस्थ । त्यसमाथि पत्रकार, ड्राइभरहरुले कोरोना ल्याउँछ भनेर डराइरहने । सधैं ‘ल है कोरोना ल्याउला’ भनिरहने भएर पनि यो घर छाड्न नै उचित थियो । दुई दिनपछि तिहार छ, काठमाण्डौमै तिहार मान्न जाने भन्ने अनि होटल गएर बस्ने योजना बुन्यौँ ।

दिउँसो नयाँबजारकै भूपूसैनिक फार्मेसीबाट छाती तातो राख्न इलेक्ट्रिकल हट ब्याग, वाफ लिने मेसिन, भिटामिन सी, जिंक, सञ्चो, जीवनजल, निको, डिकोल्ड, भिक्स जस्ता आवश्यक सामाग्री किनेँ । आवश्यक लत्ता कपडा, च्यावनप्राश, हर्लिक्स, महसहित अदुवा, लसुन, मरिच, दालचिनी, ज्वनो, जिरा, गुर्जोलाई सुचिताले पोको पारिदिइन् । फलफूल, अमला, कागति पनि झोलामै हालिन् । पानी तताउने भाडो, थर्मस सबै पोको पारियो । बाइक स्टार्ट गरेर आफै लेकसाइडतर्फ हानिएँ । बाटोमा पर्ने पोखरा न्यूजको अफिस मुन्तिर पुगेँ । गणेश बराल दाइलाई फोन गरेँ । तलमाथि फोनमै कुरा भयो । आवश्यक सहयोगका लागि अनुरोध गरेँ । उहाँलाई लक्षण देखिएकै दिनदेखि अपडेट गराएँ ।

अध्याँरो भएपछि लेकसाइड स्थित चिनेजानेकै होटलमा पुगेँ । सञ्चालक हितैषी भएकाले त्यहाँ बसुन्जेल खान बस्नको चिन्ता हुन्थेन । कोराना संक्रमित हुँदा पनि कोरोना नसम्झिए त यसले गाह्रो पार्ने रहेनछ । तर, कर्म नै पत्रकारिता भएपछि अपडेट भइरहनुपर्ने, सहकर्मीहरुले वेबसाइटमा राखेका पोष्टहरु समेत देखिरहने भएपछि डर बढ्ने भयो । मृत्युको समाचारमा सबैभन्दा पहिले कति वर्षको ? भन्नेतिर आँखा जान्थ्यो । सकेसम्म मृत्युको समाचार पढ्नै नपरे हुन्थ्यो जस्तो लाग्ने । सम्झेँ, अरुलाई पनि यस्तै लाग्दो हो । हामी पत्रकारसँग कति रिस उठ्दो हो ? मलाई आफै पत्रकार हुँदा समेत समाचार हेरेपछि दिमाग खल्बलिन थाल्यो । सायद यही कारण पत्रकार त्रिभुवन पौडेल दाइले फेसबुकमा कोरोना संक्रमण हुँदा मृत्युको समाचारले आहत दिन्छ भनेर लेख्नुभयो । त्यो अनुभव मैले पनि व्यहोरेँ । तर पनि हामी आफू जुन अवस्थाबाट गुज्रिएका छौँ, मन नै नपरेपनि समाचार प्रवाह गर्न कर लाग्ने । कस्तो निर्दयी पेशा यो ? जसले आफू र आफ्नाको समेत ख्याल नगर्ने ।

परिचित जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेसँग वर्षौअघिदेखि नै फेसबुकमा थिएँ । उहाँसँग यसअघि पनि सहयोग मागेको थिएँ । कोरोनाको सुरुवाती समयदेखि अहिलेसम्म उहाँका अपडेटसँग म जानकार थिएँ । त्यसैले सिधै डा. पाण्डेलाई आफू संक्रमित भएको र सहयोगको आग्रह गरे । उहाँले अक्सिमिटरमार्फत् अक्सिजन लेभल नापिरहनु भन्नुभएपछि फार्मेसीमा फोन गरेर तीर्थराज अवस्थी सरसँग थर्मोमिटर र अक्सिमिटर मगाएँ । मलाई ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, ज्यान दुख्ने केही भएन । वैशाख ३० गते भाइ शुशिल बस्नेतले अघिल्लो दिन छुटेका सबै सामान होटलमा ल्याइदिए ।

स्वाद, बासना नभएपनि खाना खान छोडिनँ । तर, योग ध्यान पर्याप्त बेसार, गुर्जो पानी तर्फ ध्यान नै गएन । अल्छी लागेर सुतिरहन्थेँ । बेलुकी भएपछि अलि अर्कै महसुस हुन थाल्यो । राति १ बजे बिउझिएँ । मरिन्छ कि क्या हो ? नयाँ रोग, केही थाहा छैन । कोरोनाकै कारण दिनहुँजसो २ दर्जन बढीको ज्यान गएको छ । कति त हाम्रै उमेर समूहका छन् । न कुनै दीर्घ रोगी हुन् ? यो सम्झँदा झन् ऐँठन भयो ।

त्यसपछि मोबाइलकै सामसुङ नोटमा छोडेर जाँदा जे जे लेख्नुपर्ने हो सबै लेखेँ । हरहिसाब गरेँ । सम्झनु पर्नेलाई सम्झेँ । माया गर्नेहरु सबै सम्झेँ । जिन्दगीका हरहिसाब मोबाइलमा शब्दमा उत्रियो । मन सन्तोष भयो । लेखेका कुराहरु एकछिन पढेँ, छोरा सम्झेँ, आमाबा सम्झेँ, माया गर्नेहरु सम्झेँ आँखाभरी आँशु भयो । छोराको भविष्य सम्झेर भक्कानिएँ । निन्द्रा लागेन । यत्तिकै उज्यालो भयो । दिनभरी पल्टिरहेँ । मलाई अफ्ठेरो अवस्था आयोे भने यी नम्बरहरुमा फोन गर्नु भनेर सुचितालाई म्यासेज गरेँ ।

आज त तिहारको दिन, मन बेचैन भयो । सप्तरंगी टीका लगाउनै पाइएन । यहाँ दिदीहरुसँग समेत लगाउन पाइएन । काठमाण्डौमा तिहार मान्न जाने भनेर निस्केपनि काठमाण्डौमा बिमला पण्डित दिदीलाई जुठो परेकाले टीका थिएन । छोराछोरीको टीका लगाएको फोटो मगाएँ, फेसबुकमा पोष्टेँ । बेलुकी चाउथेबाट दिदीहरुले ‘सबै तिहारका भाइमसला छन्, ल्याइदिउँ ?’ भन्नुभयो । ‘पर्दैन, सञ्चो भएपछि म आफै आउँछु’ भनेँ । मन भारी भयो ।

होटलमा कोहि पनि गेष्ट थिएनन् । एउटा कोठामा म मात्र थिएँ । खाना पनि आफ्नै अर्को होटलबाट व्यवस्था थियो । खाना ल्याउने भाइलाई पनि मेरो भाँडा म आफै प्लाष्टिकले प्याक गर्छु, गएर पञ्जा लगाएर तातो उम्लिएको पानी खन्याएपछि मात्र प्रयोग गर्न सुझाउँथे । म कहिल्यै घाम ताप्छु भनेर छत उक्लिनँ, बाहिर निस्किनँ । होटलवालालाई अफ्ठेरो नहोस् भन्ने हेतुले ।

होटलमा गएपछि दुई दिनसम्म परिवार र चाउथेमा दिदीहरु बाहेक अरुलाई थाहा थिएन । धादिङमा घरमा पनि आमाबालाई भनेको थिइनँ । अञ्जन भाइ पोखरामा थिएन । साथी राजकिरण छत्कुली पनि तिहार मान्न घर गएका थिए । पोखरा भएको शुशिल भाइ पनि बिहानै हेटौंडा गइसकेको थियो । मैले घर छाड्ने बेलामै गणेश दाइलाई भेट्दा ‘केही परे भन्नु’ भन्नुभएको थियो । यस बीचमा होटल सञ्चालक प्रिय भाइ र गणेश दाइसँग मात्र आफ्ना कुराहरु शेयर गरेको थिएँ । डा. पाण्डेसँग म नियमित म्यासेन्जर र फोनमा सम्पर्कमा रहेँ । पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ सर भिटामिन ई, जिंक, गुर्जो र पढ्ने पुस्तक लिएर आफै होटल आउनुभयो । संक्रमण मुक्त भइसक्नुभएका दाइ अमृत सुवेदीले पनि फोन गरेर नआत्तिन भन्नुभयो ।

तिहारको दिन बेलुकी श्वास फेर्न गाह्रो भयो । छाती ढक्क फुले जस्तो, खोकी लाग्ला जस्तो भयो, दम बढ्यो । डा. पाण्डेले अक्सिजन लेभल नाप्न भन्नुभयो, ९१ देखायो । उहाँले ‘९४ बाट कम हुनुलाई राम्रो मानिदैँन । श्वास फेर्न असजिलो भएको भए तुरुन्त हस्पिटल गएर एक्सरे गरिहाल्नु’ भनेर सुझाउनुभयो ।

राति ७ बजिसकेको थियो । अन्धकार भइसकेको थियो । सिधै हाम्रा अभिभावक दिपेन्द्र श्रेष्ठ सरलाई फोन गरेँ । दिउँसो आउनुभएको भएपनि उहाँले तुरुन्त आउँछु भन्नुभयो । यसबीचमा सबै अस्पतालहरुमा फोन गरेर बुझ्नुभएछ । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको कोभिड बिरामी उपचार गर्ने मूख्य सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले अहिले राति भइसकेकाले एक्सरे नहुने, भोलि १० बजेमात्रै हुन्छ भन्ने जवाफ दिएछ । त्यसपछि चरक हस्पिटल जाने तारतम्य मिलाउनुभयो । एकैछिनमा तयार भएर बस्नु, एम्बुलेन्स आउँछ भनेर दिपेन्द्र सरले भन्नुभयो । सजनी म्यामसहित सर आफै गाडीमा आउनुभयो । म एम्बुलेन्ससम्म पुग्ने बेला चोकमा धेरैले हेरिरहे । लेकसाइडमा एक ३३ वर्षीय मासु पसले युवकले ज्यान गुमाएपछि त्यहाँका स्थानिय आतंकित रहेछन् । त्यही कारण पनि एम्बुलेन्सलाई हामीले मूल सडकमै रोकिन भनेका थियौँ ।

चरक हस्पिटलमा पुगेर सिटि स्क्यान गरेँ । ‘बेड नरहेछ, रिपोर्ट म पछि भन्छु । तिमी होटल जाउ, केही असजिलो हुनासाथ फोन गरिहाल म राति जुनै समयमा पनि उठाउँछु । अरु हस्पिटलमा के कस्तो छ ? बुझ्छु’ भन्नुभयो । पुनः म एम्बुलेन्समै होटल फर्किएँ । सिटि स्क्यान रिपोर्ट हातमा थिएन, फिल्म थियो । त्यसलाई फोटो खिचेर डा. रविन्द्र पाण्डेलाई पठाएँ । उहाँले तुरुन्त आफै फोन गरेर ‘फोक्सोमा समस्या सुरु भइसकेको रहेछ, तपाईं हस्पिटल जानुस्, होटल नबस्नुस्’ भन्नुभयो ।

दिपेन्द्र सरले पनि ‘सिटी स्क्यानको रिपोर्ट आयो, निमोनिया देखियो, अब हस्पिटलमै बस्नुपर्छ भाइ । म यहाँ राम्रो ठाउँमा बेड मिलाउँदैछु’ भन्नुभयो । त्यसपछि, पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली दाइले फोन गर्नुभयो र भन्नुभयो – ‘फोक्सोमा निमोनिया देखियो । अब रिस्क लिनुहुन्न । तिमी होटलबाट निस्क’ भन्नुभयो । लगत्तै प्रदेश अध्यक्ष त्रिभुवन पौडेल दाइले पनि अब हस्पिटल बस्नुपर्छ भनेर फोन गर्नुभयो । एकैछिनमा फेरि एम्बुलेन्स आयो । मैले छाती न्यानो बनाउने हटब्याग बाहेक अरु केही बोकिनँ । एम्बुलेन्सबाटै बाआमाको लागि केहि लेखेँ, आफ्नो कुल देवतालाई भाकल र बडादेवता सम्झेँ ।

गण्डकी मेडिकल कलेज पुगेर ईमर्जेन्सी वार्डमा पुगेँ । दिपेन्द्र सरले कोभिड आइसोलेसनका डा. बिराजसँग सबै कुरा गरिसक्नुभएछ । ४५ मिनेट त्यहीँ बेडमा बसेँ । डा. बिराज आएर आइसोलेसन जान भन्नुभयो । लमजुङका संक्रमित व्यक्ति बसेको कोठामा परेँ । मेरो टेस्ट नै भएको थिएन । तर, लक्षण र निमोनिया समेत देखिइसकेकाले कोभिड नै हो, परेको व्यहोरुँला भनेर दस्तखत गरेरै म आइसोलेसनमा पुगेको थिएँ । पछि मेरो रिपोर्ट नेगेटिभ आउने र कोभिडकै बिरामीसँग बसेका कारण पुनः केही समयपछि पोजिटिभ आएको भएपनि यहाँ हस्पिटललाई दोष जाने थिएन । मेरो छिटो छरितो उपचारका लागि कोभिड टेस्टको झमेलातिर हामी गएनौं ।

जिएमसीमा त्यस रात काट्न सकिएन । बिरामी सुतेको ठाउँमा म पुष्टि नभएको मान्छे ? भनेर मन बुझाउन खोज्दा पनि मानेन । पानीदेखि सबै व्यवस्था आफै गर्न पर्ने रहेछ, मैले होटलबाट जाने बेला केही लगेको थिइनँ । त्यही हटब्याग काखी च्यापेर रात काटेँ । राति नै त्यहाँको अवस्थाबारे दिपेन्द्र सर र गणेश दाइलाई भनिसकेको थिएँ । नर्सलाई पानी ल्याइदिनु न भनेँ । चिसो मिनिरल वाटर ल्याइदिनुभयो । ‘तातो पानी छैन?’ भनेँ । ‘यो त मैले अर्कासँग मागेर हजुरलाई ल्याइदिएको’ भन्नुभयो । भोलिपल्ट बिहानै मित्र जगत कार्कीले आफ्नै घरबाट पानी तताएर ल्याइदिनुभयो । पानी नपिएको पनि १२ घण्टा भइसकेको थियो । जगतले पटक–पटक आएर मेरो औषधि ल्याइदिनुभयो । म कोभिडको बिरामी भएपनि सावधानी अपनाएर होटलबाट मेरा सबै सामान भाइ सुशिलले अस्पताल ल्याइदियो ।

हस्पिटलका लक्ष्मण शर्मा सरले धेरै पटक मलाई सम्पर्क गर्ने कोसिस गर्नुभएछ । मैले नै फोन नउठाएको भनेर उहाँले भोलिपल्ट भन्नुभयो । ‘गण्डकी मेडिकल कलेजमा तिमीलाई कुनै अफ्ठेरो हुन्न, केही समस्या भए मलाई भन्नु’ भन्नुभयो । दिपेन्द्र सरले मेडिकल सुपरिटेन्डेन्ट टुमाया घलेसँग मेरो उपचारको सबै व्यवस्थापन गरिसक्नुभएको थियो । त्यसमाथि, परिचित व्यक्तित्व लक्ष्मण सरले समेत अस्पतालमा कुनै चिन्ता नलिन भन्नुभएपछि मन हलुका भयो ।

मंसिर ३ गते मैले अस्पतालबाटै स्वाब पठाएँ । प्रेस संगठनका संयोजक माधव बरालले यसमा धेरै फलोअप गर्नुभो, केहि घण्टामै मैले पोजिटिभ रिजल्ट आएको थाहा पाएँ । माधव दाइले यस बीचमा पनि निरन्तर मेरो स्वास्थ्य अवस्था बुझ्न फोन गर्नुभयो । रामकृष्ण दाइले पनि पटक पटक फोन गर्नुभयो । गणेश दाइले हरेक दिन गुड मर्निङ देखि गुड नाइटसम्म केयर गर्नुभयो । मन नआत्तिन फिल्म हेर, ल्यापटप ल्याइदिन्छु भन्दै न्यानो ब्लांकेट समेत घरमै पुगेर अस्पताल ल्याइदिनुभयो ।

परिवारमा कसैलाई लक्षण देखिएन, केही गाह्रो साह्रो पनि नपरेपछि परिक्षण गरिएन । अस्पताल पुगेको भोलिपल्टै म छुट्टै वार्डमा सरिसकेको थिएँ । ल्यापटप खोल्ने जाँगर पनि थिएन । कहिल्यै यसरी अस्पताल भर्ना भएर बसेको थिइनँ । पोखरामा कोरोना चर्चा–परिचर्चा ह्वात्तै बढ्यो । ६ अस्पताल डुलाउँदा समेत बेड नपाएर स्याङ्जाकी धनमाया गुरुङको समाचार भाइरल भइसकेको थियो । त्यही दिन पोखरामा एकसाथ ७ दिनको मृत्यु भयो । ३ जना त आफू रहेकै गण्डकी मेडिकल कलेजमै ज्यान गुमाए । झ्यालबाट घण्टा बिराएर रोइकराई आवाज आउँथ्यो । मन थाम्नै गाह्रो हुन्थ्यो । फेरि भोलिपल्टै कास्कीको काँडे बस्ने ललितपुरका राजेश कार्की उपचार नपाई मरण भएको खबर फैलियो । झन् झन् चिन्ता बढ्यो ।

यही समयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अन्तर्वार्ता पढेँ । सरकारी नगएर किन प्राइभेट चाहारेको ? भन्ने वाक्यांश कति पनि चित्त बुझेन । म क्षेत्रीय अस्पतालले एक्सरे भोलि मात्रै हुन्छ भनेपछि चरकमा सिटी स्क्यान र त्यहाँ बेड नभएपछि जिएमसी भर्ना भएको हुँ । यदि क्षेत्रीय अस्पतालले एक्सरे त्यहाँ गरिदिएको भए, म त्यही जान्थेँ, त्यहीँको आइसोलेसनमा बस्थेँ र आर्थिक भार मलाई कम हुन्थ्यो । मैले रहरले ७ दिनमा सवा लाखको बिल तिर्न खोजेको थिइनँ । प्राइभेट चाहार्नै परेर तीन पटक एम्बुलेन्स चढ्नुप¥यो । सांसद बिन्दुकुमार थापाले पैसा भएपनि अस्पताल कै कारण सासु बचाउन नसकेको, स्वयं वरिष्ठ डा. मुकुन्द आचार्य हेलिकोप्टर चार्टड गरेर काठमाण्डौ ह्याम्स जानुपरेको अवस्थाले यहाँको उपचार अवस्था र व्यवस्थापन कस्तो हुन्छ भन्ने छर्लङ्ग हुन्छ ।

यसबीचमा मैले यहाँको सरकारी व्यवस्थापन, दल, नेता, केन्द्र सरकार र प्रदेश सरकारसँग सामाजिक सञ्जालमा तीतो पोखिरहेँ । आफूलाई परेपछि नै त थाहा हुने रहेछ । आत्तिएर अन्तिम नोट समेत लेखेर बसेको मान्छे म, आँखै अगाडि पुलिसको भ्यानले सिठ्ठी बजाउँदै एकै दिन ३ वटा शव लगेको देखेको मान्छे म । अनि आफ्नो भोगाई र वास्तविकता एकतिर छ, नेताहरुका गफ चित्त फाट्ने खालको छ । चित्त बुझ्ने गरी पेज, टुइटरतिर लेखेर बसेँ । पत्रकार महासंघ, कास्कीको जुम मिटिङमा सहभागी भएँ, विविध विषयमा चर्चा भयो ।

अस्पतालमा बस्दा ल्यापटप समेत राम्ररी खोलिनँ, भजन सुन्थेँ । साहिँली भन्ने फिल्म सक्न ७ दिन लाग्यो । योग, ध्यानतिर तरिका थाहा नभएर त्यता मन पनि गरिनँ । कागती पानी, अमला, दिनमा एउटा स्याउ सुन्तला खाएँ । बेसार पानी र गुर्जो दैनिक एक गिलास पिएँ । मलाई सबैभन्दा बढी हेरचाह गर्ने मेरो परिवार पनि जिएमसी नजिकै थियो, हिँडेर २ मिनेटमै आफू बस्ने डेरामा पुगिन्थ्यो । बुढी, छोराछोरीको यादले छाती झनै चर्किन्थ्यो ।

मंसीर ८ गते अस्पतालबाट डिस्चार्ज भएँ । सिधै घर जान मन थियो तर के गर्नु नेगेटिभ कहिले हुने हो ? १४ दिनपछि लक्षण नदेखिए अरुलाई सर्दैन र आफू पनि एण्टीबडी बनिसकेकाले सुरक्षित हुन्छ भनिएपनि समाजले त्यस्तो स्वीकार्दैन । समाजले नेगेटिभ नै रिपोर्ट खोज्छ । सोझै होटल गएँ । यही ‘ईस्यू’ मा सन्तोष पोखरेल गुरुले नागरिकन्यूज र सन्देश श्रेष्ठ सरले ‘एभरेष्ट आवाज’ मा मलाई फोन गरेर नै मेरो भोगाई समाचारमार्फत् सार्वजनिक गरिदिनुभएको छ ।

कोभिड संक्रमितलाई छाती फुले जस्तो हुने, श्वास फेर्न गाह्रो हुने, थोरै चिसोले समेत खोकी लाग्ने, थाक्ने अनुभव धेरैले शेयर गरेका थिए, मलाई पनि यस्तै भयो । होटलमा रहँदा धेरै जनासँग कुराकानी गरेँ । जसले फोन गर्छन्, आफ्नो अवस्थाबारे बताएँ । साथी राजकिरण मार्फत् खान मन लागेका कुराहरु मगाएँ । होटलमा आएपछि भने ज्यान दुख्यो । राति पनि कटक्क पेट काट्न थाल्यो ।

मंसिर १२ गते स्वाब दिन दुई वटा मास्क, पञ्जा लगाएर बाइकमै प्रदर्शनी केन्द्र पुगेँ । सुचितालाई नजिकै छु पनि भनिनँ । भोलिपल्ट माधव दाइले ‘ल घर जान कतिको मन छ ? नेगेटिभ आएको छ है’ भन्नुभयो । तुरुन्त भाइलाई ट्याक्सी लिएर लिन आउन भनेँ । सामान सबै भाइसँग पठाएँ । होटलमै बाइक भएकाले बाइकमै फर्किएँ । लक्षण देखिएको १४ दिनपछि त सर्दैन भन्ने विशेषज्ञहरुको भनाई छ । रिपोर्टका हिसाबमा ९ दिनमा कोरोना जितेको देखियो तर मलाई २३ गतेबाटै लक्षण देखिएको मान्दा १२ गतेसम्म २० दिन भइसकेको कारण कोरोना सर्दैन भन्ने लाग्यो । र, छोरोलाई अँगालो हालेरै सुतेँ । अहिलेसम्म परिवार सबै सकुशल छन् । नेगेटिभ आएको ३ दिनपछि डा. मुकुन्द आचार्यलाई फोन गरेँ । उहाँले ओम हस्पिटल आउनु भन्नुभयो । पहिलेको सिटी स्क्यान रिपोर्ट देखाउँदै फोक्सोको एक्सरे गराएँ । ‘७ प्रतिशत खराब अवस्था देखिएछ, अहिले सबै ठीक छ’ भन्नुभयो ।

कोभिड कसैका लागि रुघाखोकी जस्तो पनि नहुन सक्छ । लक्षण पनि देखिँदैन तर ऊ मार्फत् अरुलाई सर्छ । जो दीर्घ रोगी अथवा उमेर पाकेका वृद्धवृद्धा छन्, उनीहरुलाई गाह्रो बनाउँछ । निमोनिया समस्या हुनेहरुलाई यो भाइरस ज्याद्रो छ । म जस्ता निमोनिया नै नभएकाहरुलाई समेत निमोनिया देखियो । सबै कोरोना संक्रमितलाई अल्छी लाग्ने, जाँगर नचल्ने, थाक्ने, श्वास बढ्ने समस्या देखिएको छ । नयाँ भाइरस हो, एक वर्ष आयू पुगेको भाइरसले संक्रमितहरुलाई पछि कस्तो असर गर्छ ? के थाहा ? तर बजारमा मास्क नलगाउनेको भिड बढेको छ । दूरि कायम गरेको पाइन्न ।

कोरोना केही होइन भनी गफ चुट्नेहरु स्वयम् संक्रमित भएपछि कोरोना के हो ? थाहा पाउनेछन् । सरकारले के गरेको छ, अनुभव प्राप्त मैले भन्दा मेरो लागि सरकार हुनु र नहुनुको अर्थ भएन । म दशक बढी पोखरेली पत्रकारितामा योगदान दिएको, सत्तासीन पार्टीले समेत चिन्ने, सत्ता र पहुँचमा हुनेहरुसँग नजिक र पेशाको हिसामा पनि अग्रणी मिडियामा मूख्य पदमा रहेको ब्यक्ति, पत्रकार संघसंस्थामा आबद्ध परिचित हुँदा त मैले समयमै एक्सरे समेत पाउन नसक्ने रहेछु, अरु धनमाया र राजेश नै बन्नुपर्ने नियति छ । नागरिक आफै सचेत हुनुपर्छ । सरकारी स्तरबाट जम्मा दुई कल फोन आयो । महानगरको स्वास्थ्य महाशाखाबाट कन्ट्याक्ट ट्रेसिङमा को को हुनुहुन्छ ? भनेर फोन आयो । काठमाण्डौबाट तपाईंको उमेर कति हो ? छुटेछ भनेर सोधे । यसबाहेक होम आइसोलेसनमा बस्नेहरुलाई के गर्ने भनेका हुन् ? अरु थाहा भएन ।

महानगरमा रहनुभएका माधव दाइले सम्बन्धका हिसाबमा व्यक्तिगत तबरले जे गर्नुभयो, सकेको गर्नुभयो । सरकारले यति जनाको पिसिआर भयो, यति जना संक्रमित भए, यति जनाको मृत्यु भयो भन्ने तथ्यांक दिनुबाहेक नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व अरु केही पूरा गरेको छैन । यो मेरो भोगाईबाट निस्केको निश्कर्ष हो ।

संक्रमणको समयमा आफू संक्रमित भएको सार्वजनिक नगरेपनि सामाजिक उत्तरदायित्वसहित आफ्ना परिवार, आफ्ना घरभेटी, निकटका मित्रहरु जोगाउन मैले लक्षण देखिएको दिनदेखि प्रयासमा रहेँ । मेरो कारण कोहि संक्रमित भएनन्, यसमा म सन्तुष्ट छु ।

जसका ऋणी भएँ

अभिभावकका रुपमा स–शरीर उपस्थित भएर सबै जिम्मेवारी पूरा गर्नुभएका आदरणीय दिपेन्द्र श्रेष्ठ सर, काठमाण्डौमा रहेर पनि म मात्र होइन, हरेक कोभिडका बिरामी जो सहयोग चाहन्छन्, उनीहरुलाई आफै सम्झेर कल, म्यासेजमार्फत हरपल फलोअप गर्नुहुने डा. रविन्द्र पाण्डे, जिएमसी हस्पिटल, लक्ष्मण शर्मा सर, चरक हस्पिटल सबैप्रति आभारी छु ।

जिएमसीमा कार्यरत नर्स बहिनीहरुप्रति अत्यन्त आभारी छु । उहाँहरु पीपीई लगाएर फुल टाइम खटिनुभयो । कति कठिन हुन्छ भन्ने कुरा हामी हेर्नेले भन्न नसकौंला । सामान्य बिरामी सरह कोभिडका बिरामीहरुलाई हेरचाह गर्नु भनेको समाजका जान्ने बुझ्ने भनिएकाहरु अगाडि नै ‘च्यालेञ्ज’ हो । कत्ति पनि डर मनमा नराखी सेवा गर्नुहुने सबै नर्स टीम धन्यवादका पात्र हुनुहुन्छ । डा. मुकुन्द आचार्य र डा.अमर नागिलालाई नमन प्रकट गर्दछु ।

मेरो साथीभाइ रोशन अधिकारी, अशोक सेढाईं, रियाज तिमिल्सिना म तिमीहरुप्रति ऋणी छु । म लक्षण भएकै दिनदेखि मेरो बारेमा अपडेट राख्ने, हरसमय ख्याल राख्दै हौसला दिने गणेश बराल दाइ तपाईंका प्रति म नतमस्तक छु । फलोअप गर्नुहुने महेश भण्डारी सर, रामकृष्ण ज्ञवाली दाइ, माधव बराल दाइ, त्रिभुवन पौडेल दाइलाई स्मरण गर्दछु ।

स्वाब क्षेत्रीय प्रयोगशाला लैजानेदेखि मलाई अस्पतालमा खाने व्यवस्था गर्नुहुने रोशन रिमाल दाइ, तिहारका बेला यहाँ औषधि किन्ने समेत आफन्त नहुँदा सहयोग गर्नुहुने मित्र जगत कार्की, मेरो स्वास्थ्यप्रति अत्यन्त केयर गर्नुहुने मेरी दिदी देवी र सरला, खानामा सहयोग गर्ने दाइ विक्रम खत्री सबैप्रति ऋणी छु ।

विदेशमा रहेर पनि सधैं मेरो चासो राख्ने ज्ञानु भावीका साथमा करु दिदी । भाइहरु कमल, सुशिल, अञ्जन, सुनिल, मिलन, राजन र आशिष । साथीहरु राजकिरण, गोविन्दद्वय । आदरणिय व्यक्तित्वहरु महेश भण्डारी सर, अर्जुन पोखरेल दाइ, नरेन्द्र बाँस्तोला सर, सजनी म्याम, रश्मी दिदी । आफ्ना अनुभव सुनाउँदै नआत्तिन सुझाव दिने अनुप भाइ, अनिष भाइ, अमृत सुवेदी दाइ, मोतिसागर अधिकारी दाइ, जीवन सुवेदी दाइ, मित्र अर्जुन गिरी, सहकर्मी अर्जुन परियार, अर्पण तिवारी । हरेक दिनजसो मामा कस्तो छ हजुरलाई ? भन्ने भाञ्जाहरु प्रदीप, सुमन । गोकुल दाइ, सुवा दिदी, सुष्मा बहिनी, छोरेपाटनका ममी सबैका प्रति धन्य छु । आफ्नी बुढी त भइहालिन् । सहकर्मीहरु अर्जुन थापा, किरण श्रेष्ठका अतुलनीय सहयोगप्रति म आभारी छु । म हस्पिटल र होटल हुँदा सम्पर्क गर्ने, म्यासेजमा स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति आभारी छु ।

मलाई दुःखको घडीमा साथ सहयोग दिनेहरुका लागि शब्दमार्फत नै भएपनि आभार प्रकट गर्न यति लेख्नु थियो, जाँगर नलाग्दा नलाग्दै पनि प्रयास गरेँ । १ मंसीर, ०७७ ‘शून्य समय’ मानेर । जिन्दगीको हिसाकिताब गर्दै यो दिनलाई जीवनको ’मध्य’ क्षण मान्छु तर नयाँ जिन्दगीको सुरूवाती दिन । नयाँ जिन्दगी नयाँ तरिकाले नै जिउने हो । केही प्रण गरेको छु । नाफाको जिन्दगीमा म पूरा गर्छु ।

जिन्दगीको हिसाबकिताब भो ।
हिसाबकै हिसाबकिताब भो ।
सम्बन्धको हिसाबकिताब भो ।
हिसाबकिताब गर्दाको बखत साथसहयोगको हिसाबकिताब गरेँ भने,
म जत्ति पापी को होला ? धन्य छु ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
Breaking 2

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
Breaking 2

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

by राम बहादुर रोकाहा
2025 May 8 मा प्रकाशित
गण्डकी प्रदेश बजेट अघि सुझाव लिइयो
Breaking 2

गण्डकी प्रदेश बजेट अघि सुझाव लिइयो

by गण्डकी न्यूज
2025 May 2 मा प्रकाशित
पोखरामा प्रथम लायन्स कप भलिबल सुरू
Breaking 2

पोखरामा प्रथम लायन्स कप भलिबल सुरू

by गण्डकी न्यूज
2025 May 1 मा प्रकाशित
प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो
Breaking 2

प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
बस र ट्याक्टर एकापसमा ठोक्किँदा एकजना घाइते
Breaking 2

बस र ट्याक्टर एकापसमा ठोक्किँदा एकजना घाइते

by राम बहादुर रोकाहा
2025 April 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

2025 May 15 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

2025 May 15 मा प्रकाशित
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

2025 May 14 मा प्रकाशित
स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

2025 May 14 मा प्रकाशित
गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

2025 May 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews