प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । खुमा अर्याल फाउण्डेसनको आयोजनामा पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा गल्याङले वालिङ नगरपालिकालाई १० विकेटले पराजित गर्दै उपाधि हासिल गरेको हो ।
स्याङ्जा जिल्लास्तरीय अन्तरपालिका रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल प्रतिकूल मौसमका कारण २० ओभरबाट खेल सात ओभरमा सीमित गरिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको वालिङले निर्धारित ओभरमा ३९ रन मात्रै जोड्न सकेको थियो । वालिङका सुजन गौतमले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । गल्याङका बलर तुलसीहरी भण्डारी र ईशान पाण्डेले दुई–दुई विकेट लिँदै वालिङलाई कम स्कोरमै रोक्न सफल भएका थिए ।
४० रनको लक्ष्य पछ्याएको गल्याङले ३.१ ओभरमै बिना विकेट क्षति लक्ष्य पूरा गरेको थियो । गल्याङका लागि दीपक प्रसाद पाण्डेले २३ रन बनाए भने ईशान पाण्डेले १३ रनको योगदान दिएका थिए ।
एनपीएल खेलाडी सन्दिप खत्री क्षेत्री, राष्ट्रिय खेलाडी ईशान पाण्डे, दीपक प्रसाद डुम्रे र विपिन खत्री जस्ता अनुभवी खेलाडी समेटिएको गल्याङको टोलीले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै गल्याङले सुन र हिरा जडित रनिङ शिल्ड, दुई लाख रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वालिङले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । तेस्रो स्थानमा रहेको चापाकोट नगरपालिकाले एक लाख रुपैयाँ र सान्त्वना स्थानमा रहेको हरिनास गाउँपालिकाले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका विभिन्न विधागत पुरस्कार पनि वितरण गरिएको थियो । गल्याङका दीपक प्रसाद डुम्रे बेस्ट ब्याटर, पुतलीबजारका अश्वनी राना बेस्ट फिल्डर, गल्याङकै अंकित न्यौपाने बेस्ट बलर र दीपेश न्यौपाने बेस्ट विकेटकिपर घोषित भएका थिए । वालिङका बिरु गुरुङ बेस्ट कोच, चापाकोटका समीर पंगेनी इमर्जिङ प्लेयर, करण पंगेनी म्यान अफ दि टुर्नामेन्ट र विशाल कोइराला सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी घोषित भएका थिए । बिरुवाका उज्ज्वल गुरुङ सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।
विधागततर्फ उत्कृष्ट ८ जना र कान्छा खेलाडीले जनही १० हजार रुपैयाँ नगद पाउनुका साथै गण्डकी मेडिकल कलेजमा निःशुल्क ‘होल बडी चेकअप’ सुविधा प्राप्त गर्ने आयोजक खुमा अर्याल फाउण्डेसन स्याङ्जाले जनाएको छ । प्रत्येक खेलका म्यान अफ दि म्याचले ट्रफीसहित पाँच हजार रुपैयाँ नगद पाएका थिए ।
स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको फाउण्डेसनले स्याङ्जालाई क्रिकेटलगायत खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको जनाएको छ । माघ २ गतेबाट सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहेको थियो ।














