आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स्याङ्जाले निर्वाचनसम्बन्धी आठ वटा समिति गठन गरेको छ ।
कांग्रेस स्याङ्जाको कार्यसम्पादन समिति बैठकले जिल्ला सभापति राजु थापाको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । त्यस्तै, पूर्व जिल्ला सभापति तथा पूर्व सांसद शंकर पाण्डेको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।
बैठकले जिल्ला उपसभापति केदार काफ्लेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र अर्का उपसभापति शेरबहादुर थापाको संयोजकत्वमा स्थानीय तह समन्वय समिति गठन गरेको छ ।
यसैगरी, जिल्ला सचिव दामोदर लम्सालको संयोजकत्वमा घोषणा पत्र तथा प्रतिबद्धता पत्र समिति र जिल्ला सचिवालय समन्वय समिति गठन गरिएको छ । सहसचिव ध्रुव बन्धु पौडेलको संयोजकत्वमा भातृ तथा शुभेच्छुक संस्था समन्वय समिति गठन गरिएको कांग्रेस स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रवक्ता भरतप्रसाद लम्सालको संयोजकत्वमा सूचना तथा सञ्चार समिति र लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश (गणेश) थापाको संयोजकत्वमा यातायात व्यवस्थापन तथा अन्तर जिल्ला समन्वय समिति गठन गरिएको छ ।
जिल्ला सचिव दामोदर लम्सालका अनुसार निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र समन्वयात्मक ढंगले अघि बढाउन यी समितिहरू गठन गरिएको हो ।














