स्याङ्जा क्षेत्र नम्बर–२ को चुनावी मैदानमा शुक्रबार नयाँ राजनीतिक समीकरण देखिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार टिकाराम रेग्मीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झविलाल डुम्रेलाई समर्थन गर्ने निर्णय गरेको हो ।
रेग्मीले शुक्रबार औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएपछि दुवै दलबीच पहिलो हुने निर्वाचित प्रणालीतर्फ सहकार्य गर्ने र समानुपातिकतर्फ भने आ–आफ्नै पार्टी चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सहमतिलाई जनभावना, विशेषगरी जेन–जेड पुस्ताको चाहना र परिवर्तनको आकांक्षासँग जोडेर हेरिएको रास्वपाले जनाएको छ ।
रास्वपा स्याङ्जा–२ ले विज्ञप्ति जारी गर्दै प्रलोपा नेतृत्वप्रति सहमतिका लागि आभार प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आमनागरिकको चाहना र परिवर्तनको कदर गर्दै भएको यो सहमतिले स्थानीय राजनीतिमा सकारात्मक सन्देश दिएको छ ।’
यसैबीच, स्याङ्जा–२ का स्वतन्त्र उम्मेदवार घनश्याम पाण्डेय र दिलीप श्रेष्ठले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तीन जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब स्याङ्जा क्षेत्र नम्बर–२ मा १२ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।














