स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका आँधीखोला गाउँपालिका–२ का ३४ वर्षीय मनोज नेपाली दर्जीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
गरिब र धनीबीचको खाडल घटाउने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएका दर्जीले पारिवारिक समस्याका कारण उम्मेदवारी फिर्ता लिएको बताएका छन् । सामाजिक न्याय र समानताका मुद्दा उठाउँदै उम्मेदवारी दर्ता गराएका उनले बाध्यात्मक परिस्थितिका कारण पछि हट्नुपरेको उल्लेख गरेका छन् ।
स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमका अनुसार दर्जीले औपचारिक रूपमा उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन् ।
गौतमले भने, ‘स्वतन्त्र उम्मेदवारी दिएका दर्जीको फिर्ताको निवेदन प्राप्त भएको छ । उम्मेदवारी फिर्ता लिने समय आज दिउँसो १ बजेसम्म तोकिएको थियो । उक्त अवधिमा निर्वाचन क्षेत्र नम्बर १ बाट एक जनाले मात्र उम्मेदवारी फिर्ता लिएका छन् ।’
दर्जीको उम्मेदवारी फिर्तासँगै स्याङ्जा–१ मा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।














