आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । तोकिएको समयभित्र कसैले पनि उम्मेदवारको योग्यतामाथि दाबी–विरोध नदिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका दुई निर्वाचन क्षेत्रबाट कुल २८ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १३ जना चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा ११ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् भने दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा चार जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उजुरी नपरेसँगै दर्ता भएका सबै उम्मेदवारको मनोनयन कायम रहने देखिएको छ । निर्वाचन कार्यालयका अनुसार अब उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्ने, इच्छुकले उम्मेदवारी फिर्ता लिन सक्ने समय दिने र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका अनुसार काम अगाडि बढाइनेछ । मतदान मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल तातिँदै गएको छ भने सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीलाई पनि तीव्र बनाइएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भरतराज ढकाल, नेकपा (एमाले) का मिनप्रसाद गुरुङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शैलेन्द घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । नेपाली काङ्ग्रेसका उम्मेदवार ढकाल र रास्वपाका रेग्मी पहिलोपटक निर्वाचनमा होमिएका हुन् भने नेकपा एमालेका गुरुङ पूर्व प्रदेश सांसद हुन् ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, नेकपा (एमाले) का खिमबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेलगायत उम्मेदवार मैदानमा छन् । काङ्ग्रेसका उम्मेदवार मल्ल पूर्व प्रदेश सांसद हुन् भने नेकपा एमालेका थापा दुईपटक कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बनिसकेका छन् । यता, रास्वपाका डुम्रे पहिलोपटक चुनावी मैदानमा उत्रेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले बाँकी सबै प्रक्रिया समयमै सम्पन्न गरी फागुन २१ गतेको मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी भइरहेको जनाएको छ ।














