लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९ जना चालक पक्राउ परेका छन् । सडक दुर्घटना न्यूनीकरण र यात्रालाई सुरक्षित बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालन गरेको ‘लापसे चेकिङ अभियान’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो पुतलीबजार नगरपालिका–१ स्थित बसपार्क क्षेत्रको सिद्धार्थ राजमार्ग खण्डमा निजी तथा सार्वजनिक सवारीसाधनका चालकहरूलाई लागूऔषध सेवन गरे/नगरेको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ९ जना चालकले लागू पदार्थ सेवन गरी सवारीसाधन चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।
नियन्त्रणमा परेकामध्ये ट्रक, हाईस, मोटरसाइकल र स्कुटर चालक रहेका छन् । पक्राउ परेका चालकहरू स्याङ्जा, कपिलवस्तु र रौतहट जिल्लाका विभिन्न स्थानका बासिन्दा हुन् ।
पक्राउ पर्नेमा म.प्र.०३–००२ ख ४१०१ नम्बरको ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का २७ वर्षीय अक्षय कुमार चौधरी, ग १ ख ५५५५ नम्बरको हाईस चालक स्याङ्जा चापाकोट नगरपालिका–४ का ४१ वर्षीय यामबहादुर गुरुङ, ग २४ प ३१० नम्बरको क्रसफायर मोटरसाइकल चालक वालिङ नगरपालिका–१० का १९ वर्षीय कोलिजन थापा, लु ९२ प ८४२५ नम्बरको पल्सर मोटरसाइकल चालक गल्याङ नगरपालिका–८ का १९ वर्षीय अभिषेक सारु, ग २० प १९९ नम्बरको केटीएम मोटरसाइकल चालक वालिङ नगरपालिका–६ का २१ वर्षीय सुमन अर्याल रहेका छन् ।
यस्तै, ग १६ प ९०४३ नम्बरको पल्सर मोटरसाइकल चालक भिरकोट नगरपालिका–१ का २३ वर्षीय सुविन गुरुङ, लु ९४ प ५८३३ नम्बरको यामाहा मोटरसाइकल चालक कपिलवस्तु कृष्णनगर नगरपालिका–९ का २३ वर्षीय सोवित कुमार गुप्ता, लु.प्र.०१–०११ प २२३३ नम्बरको पल्सर मोटरसाइकल चालक कपिलवस्तु कृष्णनगर नगरपालिका–८ का २३ वर्षीय विवेक कुमार चौधरी तथा ना ४५ प २०५ नम्बरको स्कुटर चालक चापाकोट नगरपालिका–८ का २८ वर्षीय राजिन नेपाली रहेका छन् ।
उनीहरूलाई लागूऔषध सेवन सम्बन्धी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक नेपालीले बताए । यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।













