स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडेको छ । कालीगण्डकी मत्स्य ह्याचरीसँगको सहकार्यमा भुरा छाड्ने कार्यक्रम गाउँपालिका उपाध्यक्ष सपना गुरुङको नेतृत्वमा गरिएको हो ।
दरौंखोलामा ६० हजार र गड्यौलीखोलामा १५ हजार गरी कुल ७५ हजार माछाका भुरा छाडिएको पालिकाले जनाएको छ । गर्दी, हाडे, ढेड र सहर जातका माछाका भुरा खोलामा छाडिएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले पारिस्थितिक प्रणाली जोगाउने र माछा मारेर जीविकोपार्जन गर्ने स्थानीयलाई दीर्घकालीन लाभ मिलोस भन्ने उद्देश्यले भुरा छाडिएको बताए । पालिकाले हरेक वर्ष विभिन्न जातका माछाका भुरा खोलामा छाड्दै आएको छ ।
माछाका भुरा संरक्षणका लागि पालिकाले अर्को सूचना नआएसम्म खोलामा माछा मार्न रोक समेत लगाएको छ । यसअघि जाली प्रयोग गर्नेबाट तीन सय र बल्छी हाल्नेबाट एक सय रुपैयाँका दरले राजस्व उठाउँदै आएको पालिकाले जनाएको छ ।














