विश्व मत्स्य दिवसको अवसरमा स्याङ्जाको भीरकोट नगरपालिकास्थित आँधीखोलामा सोमबार १ हजार ५ सय भुरा माछा छोडिएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भीरकोट नगरपालिका र मत्स्य विकास केन्द्र मिर्मिको संयुक्त पहलमा जलजिवन संरक्षणतर्फको यो अभियान अघि बढाइएको हो ।
जलस्रोतमा जैविक विविधता जोगाउने, माछापालनमार्फत खाद्य सुरक्षा र पोषणमा योगदान पुर्याउने उद्देश्यसहित भुरा माछा वितरण गरिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । “जलिय जैविक विविधताको प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षामा सम्बर्द्धन” नारासहित मनाइने विश्व मत्स्य दिवसमा स्थानीय तहबाट उठाइएको यो कदमलाई उनले महत्वपूर्ण भन्दै प्रशंसा गरेका छन् ।
कर्माचार्यका अनुसार पछिल्ला वर्षमा नदी/खोलामा प्राकृतिक माछा उत्पादन घट्दै गएपछि त्यसको पुनःस्थापना अब अनिवार्य बनेको छ । उनले भने, “आगामी दिनमा पनि स्थानीय नदी र जलस्रोतमा नियमितरूपमा भुरा छोड्दै संरक्षण अभियान निरन्तर चलाइन्छ ।” नगरपालिकाले दीर्घकालीन योजनाअन्तर्गत प्राकृतिक वासस्थान जोगाउने र उत्पादन वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यसपटक खोलामा छोडिएका भुरामा सहर, असला, कत्ले र रोहु जस्ता स्थानीय तथा आर्थिकरूपले मूल्यवान् प्रजाति समावेश गरिएको मत्स्य विकास केन्द्र मिर्मिका प्राविधिक तिलक रावतले जानकारी दिए । यी प्रजाति छिटो अनुकूलन हुने, स्थानीय जैविक विविधतासँग मेल खाने र भविष्यमा उत्पादन वृद्धि गर्न सहयोगी मानिन्छन् ।
भुरा माछा संरक्षणका लागि नगरपालिकाले अर्को सूचना नआएसम्म आँधीखोला क्षेत्रमा माछा मार्न रोक लगाएको छ । यसले भुराको वृद्धि र प्राकृतिक संतुलन कायम गर्न मद्दत गर्ने नगरपालिकाको विश्वास छ । स्थानीय बासिन्दालाई पनि नदीमा अनावश्यक गतिविधि नगर्न र संरक्षणमा साथ दिन अपील गरिएको छ ।
विशेषज्ञका अनुसार स्थानीय तहबाट सुरु गरिएका यस्ता कार्यक्रमले नदी संरक्षण, मत्स्य उत्पादन वृद्धि र वातावरणीय सन्तुलनजस्ता क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छन् ।
आँधीखोला आसपासका बासिन्दाले पनि भुरा माछा छोडिएको अभियान प्रति खुशी व्यक्त गर्दै संरक्षण प्रयासले नदीको वातावरणीय सन्तुलनमा सकारात्मक बदलिने विश्वास व्यक्त गरेका छन् । भीरकोट नगरपालिकाले आगामी वर्षहरुमा थप प्राविधिक तथा कानुनी पहल गर्दै जलस्रोत संरक्षणलाई अझ मजबुत बनाउने तयारी रहेको जनाएको छ ।
यसरी सुरु गरिएको भुरा माछा अभियानले आँधीखोलामा जैविक विविधता संरक्षणसँगै स्थानीय मत्स्य व्यवसायलाई पनि नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।














