अदालतबाट भएका फैसलाको कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन स्याङ्जा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । सुरक्षित र न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले फरार रहेका चार जना दोषीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये पुतलीबजार नगरपालिका –१२ का २८ वर्षीय मनकाजी गुरुङ लागूऔषध सम्बन्धी मुद्दामा एक हजार नौ सय पच्चीस रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका थिए । सोही वडाकी ५५ वर्षीया चन्द्रावली गुरुङ ठगी मुद्दामा एक हजार रुपैयाँ जरिवाना भुक्तान नगरी फरार थिइन् ।
त्यसैगरी, साविक पेल्काचौर गाविस –७ हाल पुतलीबजार –१२ का मोति बहादुर गुरुङ जबरजस्ती करणी मुद्दामा अदालतबाट ९ वर्ष ११ महिना १७ दिन कैद सजाय पाएका थिए भने वालिङ नगरपालिका –८ की ६५ वर्षीया गोमता सुवेदी अंश दपोट मुद्दामा पाँच हजार छ सय ३७ रुपैयाँ जरिवाना बाँकी राखी फरार रहेकी थिइन् ।
प्रहरीले उनीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीका अनुसार अदालतको आदेश कार्यान्वयनमार्फत कानूनको शासनलाई बलियो बनाउने लक्ष्यसहित प्रहरी सक्रिय बनेको हो ।














