स्याङ्जाको चापाकोट नगरपालिका –८ ले स्थानीय मणिमुकुन्देश्वर गुरुकुलमा आवासीय रूपमा अध्ययनरत आठ वटुकको स्वास्थ्य बिमा गरेको छ ।
गुरुकुलमा जन्मदर्ता भएका र कागजात पूरा गरेका बालकहरूको स्वास्थ्य सुरक्षाका लागि वडाले २८ हजार रुपैयाँ बराबरको बिमा व्यवस्था गरेको हो ।
गुरुकुलमा बस्ने विद्यार्थीहरू बिरामी पर्दा अभिभावक वा समितिका प्रतिनिधिहरू समयमै अस्पताल नपुग्ने समस्या देखिएकाले बिमा गराएको वडा अध्यक्ष टोपलाल (राजु) न्यौपानेले बताए ।
“अब कुनै वटुक बिरामी परे पनि उपचारमा ढिलाइ हुने छैन, विद्यार्थीको स्वास्थ्य हाम्रो प्राथमिकता हो,” अध्यक्ष न्यौपानेले भने ।
गुरुकुलका प्रमुख जीवन आचार्यका अनुसार संस्थामा अहिले २४ जना असहाय, गरिब तथा अभिभावकविहीन बालक अध्ययनरत छन् । उनले १० जनाको बिमा माग गरिएकोमा दुई जनाको कागजात नपुगेकाले बिमा हुन नसकेको जानकारी दिएका छन् ।
“वडाको सहयोगले वटुकहरूको स्वास्थ्य सुरक्षा थप सुनिश्चित भएको छ । हाम्रो सेवा, संस्कार र समर्पणको यात्रामा यसले प्रेरणा दिएको छ,” आचार्यले भने ।
विसं. २०६५ सालमा स्थापना भएको मणिमुकुन्देश्वर गुरुकुलले वटुकहरूलाई निःशुल्क आवास, भोजन, अध्ययन सामग्री र उपचार सुविधा प्रदान गर्दै आएको छ ।














