स्याङ्जाको पुतलीबजार नगरपालिका –३ आँधिखोला क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार–पसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार बिहान करिब १०:३० बजे दुईघरे–दुलेरह–पुतलीखेत पक्कीपुल नजिकैको घाटबाट ट्याक्टरहरु नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार ग १ त ५१७१, ग १ त ६४४०, ग १ त ५७४० र ग १ त ४६३० नम्बरका ट्याक्टरहरूमा बालुवा लोड गरिएको अवस्थामा भेटिएका थिए । ती मध्ये एक ट्याक्टरको इन्जिनमा ग १ त ६४४० र पछाडिको भागमा ग १ त ५७३९ नम्बर अंकित रहेको पनि प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको सूचना अधिकारी चौधरीले बताए ।
प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानी रोक्न नियमित निगरानी तथा अनुगमन गरिरहेको जनाएको छ ।














