देशभर फैलिएको जेन-जेड आन्दोलनको प्रभाव अब सर्वोच्च अदालतदेखि स्थानीय अदालतसम्म देखिन थालेको छ । आन्दोलनकै कारण सर्वोच्च अदालतमा सञ्चालित सर्भरमा क्षति पुग्दा मुद्दा व्यवस्थापन प्रणाली (सिएमएस) लगायत सम्पूर्ण इन्ट्रानेट सिस्टम अवरुद्ध भएको स्याङ्जा जिल्ला अदालतले जनाएको छ ।
यससँगै सार्वजनिक यातायात ठप्प भएपछि मुद्दाका पक्षकारहरूलाई आवतजावतमा असहज परिस्थिति सिर्जना भएको भन्दै स्याङ्जा अदालतले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको निमित्त श्रेस्तेदार रामप्रसाद पन्थीले जानकारी दिए ।
उनका अनुसार, “स्थानीय परिवेशलाई समेत मध्यनजर गर्दै अदालतवाट दिइँदै आएका सेवाहरूमध्ये अन्तिम हदम्याद मात्र वाँकी रहेका अभियोग, फिरादपत्र वा प्रतिउत्तरपत्र दर्ता, पक्राउ पुर्जी जारी, जरूरी पक्राउ पुर्जी स्वीकृत, म्याद थप र बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनसेवाबाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।”
स्याङ्जा अदालतले सरोकारवालाहरूलाई धैर्य राख्न आग्रह गर्दै असुविधाप्रति खेदसमेत प्रकट गरेको छ ।