स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ३ का वडा सदस्य तथा नगरसभा सदस्य नारायण बहादुर थापाको निधनप्रति गल्याङ नगरपालिकाले गहिरो शोक व्यक्त गर्दै साउन १४ गते (बुधवार) शोक बिदा दिने निर्णय गरेको छ ।
वि.सं. २०१७ साल भाद्र १४ गते साविक तिनदोवाटे गाविसमा जन्मिएका थापा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित भई हालसम्म वडा सदस्यको रूपमा कार्यरत थिए । उनले गल्याङ नगरपालिका तथा समुदायको समर्पित सेवामा उल्लेखनीय योगदान पुर्याएका थिए । उनको ६५ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।
नगरप्रमुख गुरुप्रसाद भट्टराईले एक शोक विज्ञप्तिमार्फत थापाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । विज्ञप्तिमा उल्लेख गरिएको छ कि स्वर्गीय थापा नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धासमेत रहेका थिए ।
नगरपालिकाका अनुसार बुधवार (साउन १४ गते) नगर कार्यपालिकाको कार्यालयमा शोक बिदा दिइनेछ । नगरप्रमुख भट्टराईले दिवङ्गत थापाको योगदान सदैव स्मरणीय रहने बताउँदै “गल्याङले एक निष्ठावान, अनुभवी र जनप्रिय प्रतिनिधि गुमाएको” उल्लेख गरेका छन् ।