यस्तो पो तीज गीत – ‘मै माग्थेँ बालापन’

By: गण्डकी न्यूज - पुष १६ २०७७ बिहीबार २०:०३-

डेढ/दुई दशकअघि नेपाली लोकदोहोरी क्षेत्रमा सर्वाधिक चर्चित र व्यस्त गायिकाहरु को थिए ? तपाईं लोकदोहोरी गीतको पारखी हुनुहुन्छ भने मनमा ठ्याक्कै नाम आइहाल्छ – बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ लगायत । कोहि सन्यास घोषणा गरेर, कोहि सन्तान रेखदेख, कोहि पारिवारिक कारण समय व्यवस्थापन गर्न नसकेर यी नामहरु केही समय ओझेल परे । बिमा, लक्ष्मीहरुले हजारौं गीत गाइसकेका थिए । अहिले सर्वाधिक गाउनेमा देवी घर्तीको नाम अग्रपंक्तिमा आउँछ ।

कोकिलकण्ठी स्वरकी धनी गायिका लक्ष्मी न्यौपानेको चर्चा अहिले बजारमा चल्न सुरु भएको छ । उनी नचलेर हराएकी थिइनन् । महिलाको मूख्य जिम्मेवारी सन्तानको रेखदेख र परिवारलाई समय दिनका लागि केही वर्ष आराम गरिन् । अहिले उनी पुनः यस क्षेत्रमा सक्रिय छिन् । अरु पूराना गायिका पनि यस क्षेत्रमा फर्किसकेका छन् । उनको चर्चा चल्नुको मुख्य कारण मौलिक संस्कृति जगेर्नामा बढी गम्भिर भएर लागेकै कारण हो ।

लक्ष्मीको हरेक वर्ष तीजमा आउने कोसेली मौलिक हुन्छ । हरिदेवी कोइराला जस्तै संस्कृति संरक्षकका रुपमा उनले पनि आफूलाई अघि सारिसकेकी छिन् । तीजमा दाजुभाइ गाउन थाले, नाच्न थाले भनेर असन्तोष प्रकट त उनले गीतमै गरेकी छिन् । यो वर्ष २०७७ सालमा उनले निकै राम्रो तीज गीत ल्याएकी छिन् ।

लक्ष्मी न्यौपाने रेग्मी आफ्नै भाका र शब्द रहेको यो गीत उनको युट्युब च्यानलमार्फत नै सार्वजनिक भएको छ । लक्ष्मीले पछिल्लो समय आफ्नो च्यानलमा पूराना हिट गीतहरुलाई रिअपलोड गर्दै आएकी छन् ।

तीजको नाममा गाइजात्रे तथा रत्यौली भाकाका गीतहरुले युट्युब ट्रेण्डिङ कब्जा गर्दा लक्ष्मीका यस्ता मौलिक भाकाहरुले भने उनीहरुको दाँजोमा भ्यूज नपाउने पक्का छ । तर, भ्यूज बढी हुनु गुणस्तर हुनु होइन, त्यसको विरोध गर्न पनि त हेर्न परिहाल्छ र भ्यूज बढिहाल्छ ।

यस गीतको बारेमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शालिकराम पौड्यालले लेख नै प्रकाशित गरेका छन् ।

पौड्यालको लेखमा उल्लेख छः

न छेउ न टुप्पा भएका, अर्थहीन, सारहीन, अश्लील भाव बोकेका गीत गाएर सस्तो लोकप्रियता कमाउन चाहने गायकगायिकाको खहरेको बाढी आएका बेला नेपाली तीज पर्वको मौलिकतालाई लिएर रचना गरिएको मै माग्थेँ बालापन तीज गीतले हाम्रो संस्कृतिमा देखिएको विकृतिप्रति असन्तुष्टि मात्र प्रस्तुत गरेको छैन, नेपाली चेलीहरुको महान् पर्व तीजको खास मौलिकतालाई समेत झल्काएको छ ।

बिहेपश्चात आफ्नै माइती गाउँको सम्झना आइरहने र बिर्सन नसकिने बालापनका अनुभवलाई मिठो तरिकाबाट गीतमा प्रस्तुत गरिएको छ । जब मानिसलाई दुःख र पीडा वा खुसी र सुख प्राप्त हुन्छ तब उसलाई आफ्ना बाल्यकालका अनुभवहरुले घच्घचाइरहन्छन् र अतीतका दिनहरु स्वप्नवत् र आनन्दमय हुन्छन् भन्ने नोस्टाल्जियाको भाव गीतमा अभिव्यक्त भएको छ ः

उमेर ढल्के बालकै कालको सम्झना आउने झन्
मागेर पाउने भए त मै माग्थेँ बालापन
हो मै माग्थेँ बालापन ।

यसमा गीतकारले जीवनका प्रौढ अवस्थामा पुग्दा बालककालका अविस्मरणीय दिनहरुको सम्झना आइरहने र आफू त्यही बाल्यकालमा फर्कन चाहेको भाव प्रकट भएको छ । बाल्यकालमा आफूले पानी हालेर हुर्काएका सुन्तलाका बोटमा सुन्तलाहरु फले पनि खान नपाएको र बजारबाट किनेर खाएका सुन्तलामा माइती देशकै मिठो रस भरिएका सुन्तलाको अनुभूति भएको तथा आफ्ना बाल्यकालका दिनहरु सम्झेर रोएको भाव गीतमा व्यक्त भएको छ ः

सुन्तला नि फल्यो होला बाबालाई नि याद होला
मै छोरी त बिरानी भएँ बरिलै
त्यै सुन्तला नखाए नि खाइछु बाबा किनेर
बाला दिन सम्झेर रोए बरिलै ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर