पोखरा महानगरपालिका वडा नं १३ आर्वास्थित आदर्श अर्गानिक कृषक समूहको दशौँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभा उद्घाटन गर्दै पोखरा-१३ का वडाअध्यक्ष किरण बरालले कृषकले उत्पादन गरेका हरेक कृषि उत्पादन खरिद बिक्री वडा नं १३ कार्यालय हाताभित्र हाटबजार सञ्चालन गरी व्यवस्थापन गरिएको जानकारी दिए ।
उनले कृषकले उत्पादन गरेमा बजारको जिम्मा वडाले लिने प्रतिवद्धता जनाए । अध्यक्ष बरालले वडाले कृषक र कृषि उत्पादन गर्ने मेहनति कृषकलाई सधैँ आवश्यक सहयोग गरिरहने प्रतिवद्धता जनाए ।
आदर्श अर्गानिक कृषक समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्देलले समूहले गरेका कामको प्रशंसा गरे ।
कृषि सञ्जाल पोखरा-१३ का अध्यक्ष नरेन्द्र अधिकारीले कृषकलाई अनुदान तथा नयाँ उत्पादनका विविध विषयमा आफू लागि परेको जानकारी दिए ।
मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले कृषक समूहले कृषि उत्पादनलाई जोड दिँदै कृषि सहकारी संस्थाका रूपमा अगाडि बढ्न सुझाव दिए ।
युवा कृषि प्राविधिक रोशन बरालले कृषि उत्पादनका लागि बाँझो रहेका जमिनमा नयाँ उन्नत जातका फलफूल तरकारी तथा विभिन्न खाद्य बालीको उत्पादनमा लाग्न आग्रह गरे ।
समूहका अध्यक्ष शिवप्रसाद बरालको अध्यक्षतामा भएको थियो । सो अवसरमा अध्यक्ष बरालले आगामी वर्ष गर्ने कार्यक्रममध्ये एक घर एक मौरीघार, एक घर एक पोलिथिन ट्याङ्की, भकारो सुधार कार्यक्रम, उन्नत पशुपालनमा जोड दिने, सिंचाईका कार्यक्रम, उन्नत जातका तरकारी, हिउँदे बाली, हाते ट्याक्टरलगायतका कार्यक्रम प्रस्ताव गरेका थिए ।
प्रस्तावित कार्यक्रम सभाबाट पारित भएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष श्रीराम बरालले पेस गरेको आथिक प्रतिवेदन पनि पारित गरियो । सभामा उपाध्यक्ष सीता ढुङ्गाना सिग्देलले स्वागत तथा सचिव राजनकुमार सिग्देलले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-