भैरहवाबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–६ का २२ वर्षीय विशाल नेपाली रहेका छन् । उनको साथबाट प्रहरीले बुप्रेनोर्फिन इन्जेक्सन ६७ एम्पुल, फेनेरगन ६७ एम्पुल र डाइजेपाम इन्जेक्सन ८६ एम्पुल बरामद गरेको छ । प्रहरीले एक थान सामसङ मोबाइलसमेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीका अनुसार सोमबार वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित सिद्धार्थ राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।
भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४२४ नम्बरको बस जाँच गर्दा त्यसमा सवार नेपालीको साथबाट उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
नेपालीलाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए । उनलाई कात्तिक २३ गते नै स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














