स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
बुधबार बिहान फेला परेको शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बुधबार बिहान ड्याममा शव देखिएको हो । मृतकको उमेर अन्दाजी ४० देखि ४५ वर्ष रहेको छ ।
प्रहरीले घटनास्थलमा पुगेर शव जाँच मुचुल्कालगायत आवश्यक प्रक्रिया पूरा गरेको छ । शवलाई वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।
मृतकको नाम, थर र ठेगानासहित पहिचान खुल्न नसकेकाले प्रहरीले आफन्त तथा उनलाई चिन्ने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराउन अनुरोध गरेको छ ।















