नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा आफू कुनै व्यक्तिगत स्वार्थ पूरा गर्न नभई काम गर्न आएको बताएका छन् ।
उनले आन्तरिक प्रतिस्पर्धा सकिएकाले अब गुट र असन्तुष्टि छाडेर जनताको विश्वास फर्काउने अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले आफूले चमत्कार नै गर्छु भन्ने दाबी नगरेको बताए ।
पार्टीमा आफूभन्दा ३० वर्ष जेठा र ३० वर्ष कान्छा नेता–कार्यकर्तालाई समेटेर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको उनको भनाइ थियो ।
‘म नेतृत्वमा कर्म गर्न आएको हुँ । मेरो कुनै स्वार्थ छैन, म चमत्कार नै गर्छु पनि भन्दिनँ,’ उनले भने, ‘पार्टीमा चार पुस्ता छन् । सबैलाई मिलाएर जिम्मेवारी दिँदै अघि बढ्नुपर्छ ।’
महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा गरेका कारण कसैले जिम्मेवारी पाउनबाट वञ्चित हुन नहुने थापाले बताए । काम गर्न चाहने सबैलाई अवसर दिएर पार्टीलाई एकताबद्ध बनाउने उनको भनाइ थियो । अब पार्टीभित्रको प्रतिस्पर्धालाई विगतको चरण मानेर जनतामाझ जानुपर्ने उनले बताए ।
थापाले कांग्रेसले पछिल्लो निर्वाचनमा मत मात्रै नभई जनताको विश्वास गुमाएको उल्लेख गरे । मतदातासँगको सम्बन्ध सुधार्न र पार्टीप्रतिको धारणा बदल्न नेता–कार्यकर्ता घरदैलोमै पुग्नुपर्ने उनले बताए ।
‘हामीले गुमाएको मत होइन, विश्वास हो । विश्वास पुनःस्थापित भयो भने मत आफैँ आउँछ,’ उनले भने, ‘पार्टीबाट टाढिएका मतदाताका गुनासा सुनौँ र बदलिएको कांग्रेसबारे उनीहरूलाई बुझाऔँ ।’
उनले आगामी मङ्सिर महिनालाई संगठन जागरणको समय बनाउनुपर्ने बताए । वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्तालाई परिचालन गरेर पार्टीको संगठन बलियो बनाउने र जनतासँगको सम्बन्ध सुधार्ने योजना रहेको उनले सुनाए ।
कात्तिक १२ गते हुने शपथग्रहणपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट आगामी कार्यक्रम तय गरिने उनले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसले उम्मेदवार छनोटको पुरानो शैली बदल्ने पनि थापाले बताए । निर्वाचनको मुखमा टिकट बाँड्ने, खोस्ने र अन्तिम समयमा उम्मेदवार तय गर्ने प्रवृत्ति अन्त्य गरिने उनको भनाइ थियो ।
उनका अनुसार उम्मेदवारको प्रारम्भिक सूची पुस र माघभित्र तयार गरिनेछ । तल्लो तहका कार्यकर्ताले डिजिटल प्रणालीमार्फत छनोट गरेको सूचीका आधारमा थप छलफल गरी अन्तिम उम्मेदवार तय गरिने उनले बताए । पार्टीले अधिकांश सदस्यताको अद्यावधिक गरिसकेको र बाँकी काम पनि चाँडै पूरा गर्ने उनको भनाइ थियो ।
‘उम्मेदवार बनाउने प्रक्रिया दुई–तीन महिनाअघि नै टुंग्याउनुपर्छ । विधानअनुसार छनोट हुन्छ, निर्वाचनको दुई दिन वा दुई घण्टाअघि टिकट दिने र लिने काम हुँदैन,’ उनले भने ।
स्थानीय र प्रदेश निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्यका साथ अहिलेबाटै तयारीमा लाग्नुपर्नेमा पनि थापाले जोड दिए । पार्टीभित्र छुटेका र असन्तुष्ट रहेका नेता–कार्यकर्तालाई समेट्दै संगठनलाई एकताबद्ध बनाउने उनले बताए ।
सभापति थापा स्याङ्जा आउने क्रममा जिल्ला पार्टी कार्यालयसँगै बिरुवा गाउँपालिका र वालिङ नगरपालिकामा आयोजित भेटघाट कार्यक्रममा सहभागी भएका थिए । उनी बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न स्याङ्जा आएका हुन् ।















