स्याङ्जाको वालिङमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण हुने गरी चलाएको पाइएपछि एक चालकलाई ७ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार गत आइतबार वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले वालिङ नगरपालिका–१२ बायाँटारीमा सवारीसाधन जाँच गर्ने क्रममा लु ८१ प ६९७८ नम्बरको मोटरसाइकलमा स्वरूप परिवर्तन गरिएको र ध्वनि प्रदूषण हुने गरी चलाइएको पाएको थियो ।
प्रहरीले आवश्यक कारबाहीका लागि मोटरसाइकललाई पूर्वाधार विकास कार्यालय, यातायात शाखा स्याङ्जामा पठाएको थियो । उक्त कार्यालयले मंगलबार ७ हजार ५०० रुपैयाँ जरिवाना गरी मोटरसाइकल छाडेको डिएसपी अवस्थीले जानकारी दिए ।















