स्याङ्जा जिल्ला समन्वय समितिका पूर्व उपप्रमुख दिलीपकुमार बगालेसहित ६ जनाको गुल्मीमा स्कार्पियो दुर्घटनामा मृत्यु भएको छ ।
स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको स्कार्पियो सोमबार दिउँसो दुर्घटना हुँदा बगालेसहित ६ जनाले ज्यान गुमाएका हुन् ।
बीएए ०२२० नम्बरको स्कार्पियो गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना दिउँसो करिब ४ बजे भएको थियो ।
घटनास्थलमै पाँच जनाको मृत्यु भएको थियो भने दुर्घटनामा घाइते भएकी वालिङ नगरपालिका–२, स्याङ्जाकी निता बगालेको स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कार्पियो चालक वालिङ–२, स्याङ्जाका ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय होटल व्यवसायी शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन् । लोकनाथ पाण्डे हाल वालिङमा र कुलानन्द पाण्डे बुटवलको खैरेनीमा बस्दै आएका थिए ।
दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् ।
छविलाल पाण्डेको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पाको मिसन अस्पताल रेफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोमता पाण्डेको मिसन अस्पताल पाल्पामै उपचार भइरहेको छ ।
त्यस्तै, बालकृष्ण सुवेदीलाई मिर्मीबाट थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल रेफर गरिएको छ । दुवैको अवस्था मध्यम रहेको जनाइएको छ ।
दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट मृतक तथा घाइतेलाई निकालेर उपचारका लागि विभिन्न अस्पताल पुर्याएको थियो । उद्धारका लागि प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।















