बदलिएको राजनीतिक परिवेश र कांग्रेसभित्र युवाको बढ्दो उपस्थितिबीच स्याङ्जाका युवा नेता प्रकाश तिवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षसमेत रहेका तिवारी २०७९ को स्थानीय तह निर्वाचनमा ३३ वर्षको उमेरमै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी अहिले स्थानीय तहको नेतृत्वमा हासिल गरेको अनुभव र पार्टीको संगठनात्मक भूमिकालाई केन्द्रीय तहमा लैजाने तयारीमा छन् ।
तिवारी १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ बाट ७ सय ५१ मतसहित पाँचौँ स्थानमा महाधिवेशन प्रतिनिधि चयन भएका थिए । यही आधारमा उनले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा तिवारीले अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा ५ हजार २ सय ९१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी चिनमाया गुरुङले ३ हजार ३ सय ४७ मत पाएकी थिइन् । तिवारी १ हजार ९ सय ४४ मतान्तरले विजयी भएका थिए ।
गाउँपालिका अध्यक्ष बनेपछि सेवा प्रवाह, योजना कार्यान्वयन, बजेट व्यवस्थापन, प्रशासनिक क्षमता, पारदर्शिता र जवाफदेहिताका क्षेत्रमा काम गरेको तिवारीको दाबी छ । धार्मिक पर्यटन, रोजगारी र उद्यमशीलतालाई जोड दिँदै अर्जुनचौपारीमा देशकै पहिलो नवग्रह मन्दिर निर्माणसमेत गरिएको छ ।
स्थानीय तहमा नयाँ अभ्यास र नवप्रवर्तनका लागि तिवारीले जेसीआई नेपालबाट युवा पुरस्कार पाएका छन् । २०२५ मा उनलाई ‘४० अन्डर ४०’ प्रभावशाली युवाको सूचीमा समेत समेटिएको थियो ।
राजनीतिमा सक्रिय हुनुअघि व्यवसायमा संलग्न तिवारीले काठमाडौं विश्वविद्यालयबाट बीबीए र भारतीय दूतावासको छात्रवृत्तिमा एमबीए अध्ययन गरेका छन् । २० वर्षको उमेरमै कांग्रेसको क्रियाशील सदस्य बनेका उनी उद्यमी नेपालका संस्थापक अध्यक्षसमेत भएका थिए । विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाको सञ्चालक र नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समितिमा रहेर पनि उनले काम गरेका छन् ।
कांग्रेसको उद्योग तथा वाणिज्य विभागको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हालेका तिवारी १४औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नम्बर १ ‘ख’ को प्रदेश सभापतिमा निर्वाचित भएका थिए । १५औँ महाधिवेशनको तयारीका लागि कांग्रेसले गठन गरेको निर्वाचन ब्युरोमा पनि उनलाई सदस्यको जिम्मेवारी दिइएको थियो ।
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक एजेन्डाबारे पनि निर्णय गर्नेछ । गत वर्षको जेनजी आन्दोलनपछि राजनीतिमा युवाको भूमिकाबारे बहस बढिरहेका बेला कांग्रेस महाधिवेशनमा पनि युवा नेताहरूको सहभागिता र दाबीलाई चासोका साथ हेरिएको छ ।
तिवारीले स्थानीय तहको नेतृत्वबाट प्राप्त अनुभवलाई पार्टी संगठन र नीति निर्माणको केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन् ।















