भारी वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्याङ्जा प्रशासनले असोज ८ देखि ११ गतेसम्म रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनाअनुसार सिद्धार्थ राजमार्गमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा अन्य शाखा सडकमा साँझ ६ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न, अत्यावश्यकबाहेक यात्रा नगर्न र बाध्य भएर यात्रा गर्नुपरे नजिकको सुरक्षा निकायसँग समन्वय गरी निर्देशन पालना गर्न आग्रह गरेको छ ।
मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहयोगका लागि १२३४ र नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।













