स्याङ्जाको गल्याङ नगरपालिका–१०, पकवादीमा खानेपानीको ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट लड्दा एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीय धर्मबहादुर थापा शुक्रबार दिउँसो दुर्घटनामा परेका हुन् ।
घर नजिकैको जङ्गलमा रहेको पानीको मुहान र ट्याङ्की सरसफाइपछि फर्कँदै गर्दा गोरेटो बाटोबाट करिब एक सय मिटर तल खसेर थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते थापालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा पुर्याइए पनि उपचारकै क्रममा शुक्रबार साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।














