नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर संगठन परिचालनलाई तीव्र बनाएको छ । यसैक्रममा पार्टीले १५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ ।
बिहीबार सम्पन्न जिल्ला कमिटीको बैठक तथा अभिमुखीकरण कार्यक्रमले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गर्ने टुंगो लगाएको हो । निर्वाचनमा संगठनलाई एकीकृत र प्रभावकारी ढंगले परिचालन गर्ने उद्देश्यसहित कमिटीलाई व्यापक बनाइएको पार्टीले जनाएको छ ।
परिचालन कमिटीमा जिल्ला कमिटी, जिल्ला सल्लाहकार कमिटी, निर्वाचन क्षेत्रीय समन्वय कमिटी, पालिका कमिटी, वडा कमिटीका पदाधिकारी, जनप्रतिनिधि, जनसंगठनका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरूलाई समेटिएको छ ।
यसै बैठकले पार्टी केन्द्रीय सदस्य सिमाकुमारी क्षेत्रीको संयोजकत्वमा निर्वाचन परिचालन हाइकमाण्ड गठन गर्ने निर्णय गरेको छ । यस्तै, चक्रबहादुर पराजुलीको नेतृत्वमा जिल्ला अनुगमन तथा मूल्यांकन समिति र प्रदेश कमिटी सचिवालय सदस्य सुधिर पौडेलको संयोजकत्वमा प्रशासनिक सहजीकरण तथा समन्वय समिति गठन गरिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय मजबुत बनाउने उद्देश्यले खड्कराज सुवेदीको नेतृत्वमा स्थानीय जनप्रतिनिधि समन्वय समिति पनि गठन गरिएको पार्टीले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रममा केन्द्रीय सचिव पद्माकुमारी अर्यालसहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार मिनप्रसाद गुरुङ र क्षेत्र नम्बर २ का उम्मेदवार खिमबहादुर थापाले निर्वाचनको तयारी, संगठन परिचालन र राजनीतिक एजेन्डाका विषयमा धारणा राखेका थिए । साथै पार्टीका नेता–नेतृहरू सुधिर पौडेल, रामबहादुर थापा, नारायण प्रसाद मरासिनी, सिता सुन्दास, सिमा क्षेत्रीलगायतले आ–आफ्नो भनाइ व्यक्त गरेका थिए ।
एमाले स्याङ्जाले संगठन सुदृढीकरण र मतदाता तहसम्म प्रभावकारी पहुँच विस्तार गर्दै निर्वाचनमा निर्णायक भूमिका खेल्ने दाबी गरेको छ ।














