स्याङ्जाको हरिनास गाउँपालिकामा आयोजित अन्तर विद्यालयस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजागृती माध्यमिक विद्यालयले जितेको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ हरिनास गाउँपालिकास्थित खेल मैदानमा सम्पन्न प्रतियोगितामा जनजागृती माविले ८ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १६ पदक हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको हो ।
प्रतियोगितामा पिताम्बर माध्यमिक विद्यालयले ५ स्वर्ण, ६ रजत र ५ कास्य गरी १६ पदकसहित उपविजेता बन्न सफल भयो भने महिमा माध्यमिक विद्यालयले ४ स्वर्ण, ८ रजत र ४ कास्य गरी १६ पदक प्राप्त गर्दै तृतीय स्थानमा सीमित रह्यो ।
विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष मानन्धरले गाउँपालिकाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिने बताए । “पढाइसँगै खेलकुदलाई समान महत्व दिएर सक्षम र आत्मविश्वासी जनशक्ति उत्पादन गर्नु हाम्रो लक्ष्य हो,” अध्यक्ष मानन्धरले भने ।
प्रतियोगितामा हरिनास गाउँपालिकाभित्रका विभिन्न ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।













