स्याङ्जाको वालिङ नगरपालिका –१ स्थित रणविर जनहित माध्यमिक विद्यालयले विद्यार्थीलाई संस्कार एवं नैतिक शिक्षा प्रदान गर्ने कार्यक्रम लागू गरेको छ ।
विश्व हिन्दु युवा संघ स्याङ्जाको पहलमा सुरु गरिएको यो विषयले विद्यार्थीको चारित्रिक विकासमा टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताए ।
उनका अनुसार समाजमा नैतिकता खस्किँदै गएको अवस्थामा विद्यालयस्तरमै यस्ता विषय अनिवार्यजस्तै भएका छन् । “विद्यार्थीलाई सही मार्गदर्शन आवश्यक भएकाले हामीले विद्यालयमा संस्कार विषय लागू गरेका हौं,” रेग्मीले बताए । आगामी दिनमा अन्य विद्यालयले पनि यस प्रकारको विषय पढाउनुपर्नेमा उनले जोड दिए ।
विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलका अनुसार संस्कार शिक्षा कक्षा ६ देखि ८ का विद्यार्थीका लागि सञ्चालन हुनेछ । संघले लामो समयदेखि नैतिक शिक्षा विद्यालयमा अनिवार्य गर्नुपर्ने माग राख्दै विभिन्न पालिकामा ध्यानाकर्षण गराउँदै आएको छ ।














