स्याङ्जाको भीरकोट नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा भाग्योदय माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।
भीरकोट खेलमैदानमा पाँच दिनसम्म चलेको प्रतिस्पर्धामा भाग्योदय माविले १४ स्वर्ण, ७ रजत र ५ कास्य जित्दै कुल २६ पदकसहित उपाधि हासिल गरेको हो । उपाधिसँगै भाग्योदय माविले शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी, सहिद शुक्र माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र ४ कास्य पदक जित्दै दोस्रो भएको छ । ३ स्वर्ण, ३ रजत र ७ कास्य पदक जितेको दहथुम माध्यमिक विद्यालय प्रतिस्पर्धामा तेस्रो बनेको छ । दोस्रो र तेस्रो हुने विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
प्रतियोगितामा सफलतापूर्वक स्थानीयदेखि राष्ट्रिय स्तरसम्म पुग्न सफल खेलाडी सुशील खड्कालाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिएको थियो ।
भलिबल, कबड्डी, दौड, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता खेल समावेश रहेको प्रतियोगितामा १७ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा चार विद्यालयले कुनै पदक हात पार्न सकेनन् भने पाँच विद्यालय स्वर्ण पदक विहीन रहेका थिए । प्रतियोगिता मङ्सिर १८ देखि २२ गतेसम्म चलेको थियो ।
पुरस्कार वितरण गर्दै निवर्तमान नगरप्रमुख छायाराम खनालले खेलकुदले एकता र अनुशासनको भावना बढाउने भन्दै निरन्तर सहभागिता नै महत्वपूर्ण भएको बताए ।
खेल व्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र केसीले प्रतियोगिता सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै नगरको खेलकुद विकासमा निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे ।
शिक्षा शाखा प्रमुख विष्णु बहादुर भट्टराईले प्रतियोगिताले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढाउनुका साथै विद्यार्थीहरूको शारीरिक क्षमता, अनुशासन र आत्मविश्वास विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।














