स्याङ्जाको फेदीखोला गाउँपालिकामा सम्पन्न आठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयले उपाधि जित्न सफल भएको छ ।
फेदीखोला रंगशालामा तीन दिनसम्म चलेको प्रतिस्पर्धामा सिद्धार्थ माविले १८ स्वर्ण, छ रजत र चार कास्यसहित उपाधि जितेको हो । उपाधि विजेता सिद्धार्थ माविले शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र र ३० हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।
प्रतियोगितामा सात स्वर्ण, पाँच रजत र सात कास्य जितेको चण्डीडाँडा माध्यमिक विद्यालय दोस्रो भएको थियो । चार स्वर्ण, १२ रजत र १२ कास्यसहित दामगाडे मावि तेस्रो बनेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन थापाले जानकारी दिए ।
प्रतियोगितामा दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता विधाहरू समावेश थिए ।
खेलकुदमार्फत विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको बताउँदै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक विकास र अनुशासन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विजेता तथा उपविजेताहरूलाई फेदीखोला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा पालिकाभित्रका ११ विद्यालयबीच प्रतिस्पर्धा भएको थियो ।














