स्याङ्जाको कालीगण्डकी गाउँपालिका –३ लसर्घा आलमदेवी देउरालीमा जनज्योति युवा क्लबले आयोजना गरेको ३९औं वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गल्याङ नगरपालिका -७ च्याम्पियन बनेको छ ।
हरिबोधनी एकादशी पर्वको अवसरमा भएको प्रतियोगितामा गल्याङ नगरपालिका –७ विजयी बन्दै प्रथम भएको हो । विजेता गल्याङ -७ ले एक लाख ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
यस्तै, उपविजेता कालीगण्डकी गाउँपालिका –१, तेस्रो कालीगण्डकी –३ तथा सान्त्वना कालीगण्डकी –४ ले क्रमशः ४० हजार र २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएका हुन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सुगम बिक (गल्याङ-७), उदयमान खेलाडी अभिनास सेन्चुरी (कालीगण्डकी-३), उत्कृष्ट स्पाइकर उमेश सेन्चुरी (गल्याङ-७), उत्कृष्ट सेटर सौरभ गुरुङ (गल्याङ-७), उत्कृष्ट ब्लकर रवी केसी (कालीगण्डकी-३), उत्कृष्ट सर्भर नवीन महतो (कालीगण्डकी-१), उत्कृष्ट डिफेन्डर राजन दर्लामी मगर (गल्याङ-७) र उत्कृष्ट प्रशिक्षक उमेश श्रेष्ठ (गल्याङ-७) घोषित भएका थिए ।
सर्वोत्कृष्ट खेलाडीले तीन हजार रुपैयाँ नगदसहित ट्रफी र विधागतका अन्य खेलाडी र प्रशिक्षकलाई जनही एक हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।
विजेता, उपविजेता टिम साथै विधागततर्फ सबैलाई कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापालगायतले पुरस्कार प्रदान गरेका हुन् ।
कार्तिक १६ गतेदेखि सुरु भएको प्रतियोगितामा चर्चित भलिबल खेलाडी रवी केसीसहित उमेश सेन्चुरी, मनिस मानन्धर, हरि पाण्डे, नबिन महतो, सुर्य बिक, रुपेन्द्र गैरे, सन्तोष महत, सुगम बिक र गण्डकीका चर्चित डिफेन्डर राजन दर्लामीसहितको छ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा लोक तथा दोहोरी गायक मिलन लामा, किस डान्स एकेडेमी रामपुर, पाल्पाका कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए ।














