स्याङ्जा सदरमुकाममा २०५९ सालदेखि सञ्चालनमा आएको रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य नाफा आर्जन गरेको छ । सहकारीले सो अवधिमा ३४ लाख एक हजार तीन सय १५ रुपैयाँ ८४ पैसा मुनाफा कमाउन सफल भएको हो ।
वि.सं. २०५९ जेठ ५ गते स्थापना भएको सहकारीले शनिबार सम्पन्न २४औं वार्षिक साधारण सभाको अवसरमा नाफा तथा वित्तीय विवरण सार्वजनिक गरेको हो । सहकारीले तीन करोड २७ लाख २९ हजार ४२१ रुपैयाँ २६ पैसा आम्दानी गर्दै दुई करोड ९३ लाख २८ हजार एक सय पाँच रुपैयाँ ४२ पैसा खर्च गरेको जनाएको छ । सहकारीले कृषि र पशुपालन लगायतका क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ ।
सहकारीका अध्यक्ष विष्णुप्रसाद पोखरेलका अनुसार संस्थाको शेयर पूँजी तीन करोड ६८ लाख सात हजार चार सय रुपैयाँ पुगेको छ । उनले हालसम्म २३ करोड ४९ लाख ९७ हजार दुई सय दुई रुपैयाँ ६८ पैसा निक्षेप संकलन गरी १८ करोड ९५ लाख ७१ हजार ९ सय ९९ रुपैयाँ ऋण लगानी भएको जानकारी दिए ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा सहकारीले एक करोड ४७ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको अध्यक्ष पोखरेलले बताए ।
साधारण सभामा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्लेले सहकारी नाफामुखी मात्र नभई सेवामुखी बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहकारीका संस्थापक भरतराज ढकाल, पूर्व अध्यक्ष भरतप्रसाद लम्साल, मुक्तिनाथ विकास बैंकका पूर्व सञ्चालक तथा वरिष्ठ अधिवक्ता रामप्रसाद पोखरेल, बैंकका सिइओ प्रद्युम्न पोखरेल र मानव मिलन संस्थाका केन्द्रीय अध्यक्ष नारायण प्रसाद पौडेललगायतले मन्तव्य दिएका थिए ।
साधारण सभामा सहकारी क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार महासंघ गण्डकीका सदस्य श्रीकृष्ण सिग्देल, नियमित बचतकर्ता विनोद अर्याल र असल ऋणी ज्योतिमाया थापालाई सहकारीले सम्मान गरेको सचिव प्रकाश डोटेलले जानकारी दिए ।
स्थानीयको विश्वास जित्दै आएको रोयल सहकारीलाई स्याङ्जाको पुरानो र भरपर्दो सहकारीका रूपमा हेरिन्छ ।














