स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ मा शुक्रबार दिउँसो बुलेट मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लामागे लम्सालथरका ४५ वर्षीय माधवप्रसाद लम्साल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुष्टि गरेको छ ।
आमडाँडास्थित सतौं–पुतलीखेत भित्री सडकखण्डमा सतौंबाट लामागेतर्फ आइरहेको लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खस्दा लम्सालको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।
वरिष्ठ कृषि अधिकृत लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कास्कीका प्रमुखको रुपमा कार्यरत थिए । यसअघि उनी कार्यान्वयन एकाइ स्याङ्जाका कार्यालय प्रमुख थिए ।
दुर्घटनाको विस्तृत विवरणका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














