स्याङ्जाको भीरकोट नगरपालिका –८ स्थित पब्लिक एकेडेमी माध्यमिक विद्यालयका १३० जना विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाक सुट) वितरण गरिएको छ ।
मानवीय परोपकारी संस्था नेपाल मार्फत मनमोहन मेमोरियल अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा समाजसेवी डा. मनोर दिन सैयदको पहलमा विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो ।
पोशाक वितरण कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले डा. सैयदले भीरकोटको शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरेका छन् । उनले विद्यार्थीहरूलाई “डा. सैयदजस्तै परिश्रमी र उदाहरणीय बन्न” आग्रह समेत गरेका छन् ।
डा. सैयदले “विद्यार्थीको अनुहारमा खुशी देख्न पाउँदा आत्मसन्तोष मिलेको” बताउँदै, शिक्षाको विकासका लागि आफू निरन्तर साथ दिने प्रतिबद्धता जनाएका छन् । उनले विद्यालय र विद्यार्थी नै समाजको मेरुदण्ड भएकाले सहयोगलाई निरन्तरता दिने बताएका छन् ।
त्यस्तै, निवर्तमान नगर प्रमुख छायाराम खनालले डा. सैयदको जन्मभूमिप्रतिको मायाको प्रशंसा गर्दै, बालबालिका र विद्यालयप्रति सबैले माया र जिम्मेवारीका साथ सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
विद्यालयका प्रधानाध्यापक गीता रोका क्षेत्रीका अनुसार पोशाक वितरण विशेष गरी जनजाति, दलित र विपन्न समुदायका विद्यार्थीहरूलाई केन्द्रित गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष नन्दलाल खनालले वडा नं. ८ मा स्वास्थ्य शिविर सञ्चालनका लागि डा. सैयदको सहकार्यमा पहल गर्न अनुरोध गरेका छन् ।
स्थानीय अभिभावक र शिक्षकहरूले बालमैत्री वातावरण निर्माण र शिक्षाको गुणस्तर सुधारमा यो सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।