स्याङ्जाको वालिङ् नगरपालिकामा अत्याधुनिक नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ् नगरपालिकाको संयुक्त लगानीमा बनेको यो अस्पतालले अब स्थानीय बासिन्दालाई आफ्नै शहरमा उपचार सुविधा प्रदान गर्नेछ ।
वालिङ् नगरपालिका –१ रामबाच्छामा निर्माण गरिएको भवनको निर्माणका लागि नगरपालिका र आशिष सिद्धबाबा रुची जेभीबीच २०७८ असार ८ गते सम्झौता भएको थियो । कुल १३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो भवन दुई पटक म्याद थप गर्दै यहि कात्तिक मसान्तमा पुर्याइएकोमा अन्ततः तयार गरिएको हो ।
नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीका अनुसार कोभिड–१९ महामारी, निर्माण सामग्रीको अभाव र स्थलको जटिलताका कारण म्याद थप्नुपर्ने अवस्था आएको थियो । करिब २० रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल परिसरमा स्थानीयको सहयोग र अनुदानमा विभिन्न संरचना निर्माण गरिएको छ ।
तीन वटा ब्लकमा विभाजित यो अस्पताल अहिलेका लागि १५ शैयाको क्षमता भएको बताउँदै नगर प्रमुख कुष्ण खाँणले भने, “अस्पतालको डिपिआर २७ करोडको रहेको छ । भवन तयार भए पनि कर्मचारी आवास गृह, बाउन्ड्री, लिफ्ट र निकास सडकजस्ता संरचना निर्माण बाँकी छन् ।”
भवन निर्माण स्थल भिरालो भएकाले थप तीन करोड रुपैयाँ खर्च वृद्धि भएको इन्जिनियर रेग्मीले जानकारी दिए । तत्कालीन केपी शर्मा ओली सरकारको पालामा देशभरका पालिकामा सुरु गरिएको ‘नगर अस्पताल निर्माण अभियान’ अन्तर्गत यो अस्पतालको निर्माण सुरु भएको थियो ।
स्याङ्जाको सबैभन्दा बढी जनसङ्ख्या भएको वालिङ् नगरपालिकामा यसअघि सुविधा सम्पन्न स्वास्थ्य संरचना नहुँदा स्थानीयलाई उपचारका लागि पोखरा वा पाल्पासम्म धाउनुपर्ने अवस्था थियो । अब नयाँ अस्पताल सञ्चालनमा आएपछि नगरकै नागरिकले घरमै स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।