स्याङ्जाको चापाकोट नगरपालिका –८ बनकट्टा घाटमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार–पसार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय चापाकोट र अस्थायी प्रहरी चौकी दामाचौरबाट खटिएको संयुक्त टोलीले लु ५ त ८४४ नम्बरको ट्याक्टरमा बालुवा लोड गरी राखिएको अवस्थामा नियन्त्रणमा लिइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उक्त ट्याक्टरलाई प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि चापाकोट नगरपालिकाको कार्यालयमा बुझाएकोमा नगरपालिकाले कारबाही स्वरुप सम्बन्धित पक्षलाई १० हजार रुपैयाँ जरिवाना तिराई ट्याक्टर छाडिएको बताइएको छ ।
सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार, वातावरणीय सन्तुलन र स्थानीय स्रोत संरक्षणका लागि प्रहरीले यस्ता अनियमित गतिविधि नियन्त्रणमा कडाइ गरिरहेको छ भने अवैध उत्खनन नियन्त्रणका लागि प्रहरीले नियमित अनुगमन र निगरानीलाई अझ सुदृढ बनाएको छ ।