दशैं पूर्णिमाको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ पेल्काचौरमा सम्पन्न अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको शुक्लागण्डकी नगरपालिका –१२ ले जितेको छ ।
मनकामना युवा क्लब पेल्काचौरको आयोजनामा भएको रोमाञ्चक फाइनल खेलमा शुक्लागण्डकी -१२ ले गल्याङ नगरपालिका –७ लाई ३–२ को सेटमा हराउँदै उपाधि हात पारेको हो । खेल २३–२५, २५–२१, २०–२५, २५–१६ र १५–१३ को सेटमा टुंगिएको थियो ।
विजेता शुक्लागण्डकीले एक लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गल्याङले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ । तेस्रो स्थानमा वालिङ नगरपालिका –३ माझकोट रहँदै ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि शुक्लागण्डकीका बिशाल ठकुरीले हात पारे । त्यस्तै, स्पाइकरमा विवस ठकुरी, सेटरमा अशिक ठकुरी, ब्लकरमा सुगम सुनार, सर्भर उमेश सेन्चुरी र डिफेन्डरमा अर्जुन गुरुङ चयन भएको राष्ट्रिय रेफ्री अनिल रानाले जानकारी दिए ।
‘हाम्रो गौरव, हाम्रो पौरख, हाम्रो पेल्काचौर’ नारासहित असोज २२ गतेदेखि सुरू भएको प्रतियोगितामा स्याङ्जा र तनहुँका १२ टिमले प्रतिस्पर्धा भएको राष्ट्रिय रेफ्री रानाले बताए ।
मनकामना युवा क्लबका अध्यक्ष राजेन्द्र शर्माका अनुसार, समुदायबीच एकता, स्थानीय संस्कृतिको संरक्षण र खेलकुदप्रतिको रुचि प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।