सामाजिक सञ्जाल फेसबुकमार्फत स्याङ्जाबासी र प्रहरीमाथि अनर्गल, झुटा र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार ‘पुष्पक’ नामको फेसबुक पेज सञ्चालन गर्दै आपत्तिजनक सामग्री र फोटोहरू सार्वजनिक गर्ने कास्कीको पोखरा महानगरपालिका –९ का ३३ वर्षीय पुष्पक थापा पक्राउ परेका हुन् ।
प्रहरी निरीक्षक कमल नेपालीका अनुसार थापाले लगातार गलत सूचना प्रवाह गरी प्रहरीको छवि बिगार्ने प्रयास गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो । “थापाविरुद्ध आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ,” निरीक्षक नेपालीले बताए ।
प्रहरीले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने, व्यक्तिको मानमर्दन गर्ने तथा संस्थाको छवि धूमिल पार्ने गतिविधिमा संलग्न जो–कसैलाई पनि कानूनी दायरामा ल्याइने चेतावनी दिएको छ ।