कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका थप एक कैदी स्याङ्जामा पक्राउ परेका छन् ।
जेन-जेड आन्दोलनकै क्रममा गत भदौ २४ गते राति कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी २८ वर्षीय बिमल जिटीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । उनी स्याङ्जा भिरकोट नगरपालिका –५ का स्थानीय बासिन्दा हुन् ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको अपरेशन टोलीले जिटीलाई बिहीबार उनको घरमै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीका अनुसार पक्राउ परेका जिटीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी जिल्ला कारागार, स्याङ्जामा पठाइएको छ ।
यसअघि गत भदौ २४ गते जेन-जेड आन्दोलनकै क्रममा काठमाडौं र कास्की कारागारबाट फरार भएका चारजना कैदीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।