कास्की कारागारबाट भागेर आएका कर्तव्य ज्यान मुद्दाका कैदी स्याङ्जामा पक्राउ परेका छन् ।
गत भदौ २४ गते भएको जेन-जेड आन्दोलनमा राति कास्की कारागार, पोखराबाट फरार भएका स्याङ्जा भिरकोट नगरपालिका –३ निवासी यमबहादुर रोका असोज ६ गते आफ्नै घरबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र मातहत युनिटको समन्वयमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका रोकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला कारागार, स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले कारागारबाट फरार हुने घटनालाई गम्भीर रूपमा लिएको बताउँदै यस किसिमका संवेदनशील मुद्दामा प्रहरी सदैव सतर्क रहेको जानकारी दिए ।