जेन-जेड आन्दोलनका क्रममा देशभर भदौ २३ र २४ गते ठूलो संख्यामा भएको हताहतीले स्याङ्जा पनि मर्माहत बनेको थियो । यही कारण बुधबारदेखि अनिश्चितकालीन बिदा घोषणा गरेका स्याङ्जाका छ पालिका आइतबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् ।
बन्दको घोषणा गर्नेमा गल्याङ, भीरकोट र वालिङ नगरपालिका साथै हरिनास, बिरुवा र कालीगण्डकी गाउँपालिका रहेका थिए । पालिकाहरूले विज्ञप्ति जारी गर्दै वडा कार्यालयदेखि शैक्षिक संस्था र सम्पूर्ण संघ–संस्था अर्को सूचना नआएसम्म बन्द रहने जनाएका थिए । तर, परिस्थिती क्रमशः सामान्य बन्दै गएपछि आइतबारदेखि सेवा प्रवाह सुरु गर्ने तयारी भएका हुन् ।
यतिबेला पालिकाहरूले विज्ञप्तिमार्फत आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई संयमित र शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न आह्वान गरिएको छ ।
यसैबीच, स्याङ्जामा पनि जेन-जेड आन्दोलनका प्रदर्शन भए पनि ठूला अप्रिय घटना भने नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मंगलबार सदरमुकाम स्याङ्जा बजारमा प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, पुतलीबजार नगरपालिकाको कार्यालय तथा नेकपा एमाले र नेपाली काँग्रेसको जिल्ला कार्यालयका सिसा फुटाइएका थिए । त्यस्तै, ट्राफिक चोकमा रहेको बि.पी. कोइरालाको शालिकसमेत तोडफोड गरिएको थियो ।
प्रहरी उपरीक्षक न्यौपानेका अनुसार केही क्षति भए पनि आन्दोलन तुलनात्मक रूपमा शान्तिपूर्ण रह्यो । देशभरको तुलनामा स्याङ्जाका जेन-जेडहरूले अपेक्षाकृत संयमता अपनाएको देखिएको छ ।