स्याङ्जामा इन्टरनेटको काम गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।
शनिबार दिउँसो पौने दुई बजेको समयमा स्याङ्जाको पुतलीबजार नगरपालिका –९ कोल्मास्थित फाइबर नेटको काम गर्दै गरेका रौतहट गुजरा नगरपालिका –१ रंगपुर घर भएका २५ वर्षीय अरुण कुमार चौधरी करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
चौधरी हाल पुतलीबजार नगरपालिका –१ ठाडोलाइनमा डेरा गरी बस्दै आएका थिए । उनले बिजुलीको पोलमा एल्युमिनियमको भर्याङ लगाएर काम गर्ने क्रममा सो भर्याङ बिजुलीको तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घाइते भएका चौधरीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल पुतलीबजार पुर्याइएको थियो । तर दिउँसो २:४५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
घटनास्थलमा प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।