स्याङ्जाको वालिङ नगरपालिका –६ मिर्दीस्थित खोलानालामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक जेसीबी नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले नदिजन्य पदार्थ उत्खनन भइरहेको भन्ने विशेष सूचनाका आधारमा सोमबार सो जेसीबीलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको प्र ३–०१००३ क ६६६५ नम्बरको जेसीबीलाई आवश्यक कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।
नदिजन्य पदार्थको अवैध उत्खननले वातावरणीय असन्तुलन सिर्जना हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवनमा जोखिम थपिने भएकाले यसलाई नियन्त्रण गर्न नियमित अनुगमन र कडा कारबाही गर्नुपर्ने सरोकारवालाहरूको धारणा रहेको छ ।