सातौं संस्करणको स्याङ्जा महोत्सवमा मम्मी डान्सदेखि लोक भजन चुड्का प्रतियोगिता हुने भएको छ । फागुन ६ देखि १८ गतेसम्म हुने महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु रहेका छन् ।
महोत्सवमा परम्परागत रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता र पञ्चेबाजा प्रतियोगिता पनि रहेको प्रतियोगितात्मक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक रविन्द्र केसीले जानकारी दिए ।
रत्यौली प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै, लोक भजन चुड्का प्रतियोगिता र विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् ।
मम्मी डान्स (आमा एकल नृत्य) प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ४ हजार नगद पुरस्कार पाउनेछन् । पञ्चेबाजा प्रतियोगितामा प्रथम हुनेले ३० हजार र द्वितीय हुनेले २० हजार नगद पुरस्कार प्राप्त गर्ने संयोजक केसीले जानकारी दिए ।
प्रतियोगितात्मक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक केसीले पञ्चेबाजा प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई प्रोत्साहन स्वरुप पाँच हजार नगद प्रदान गरिने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-