बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का ४२ वर्षीय बालसिंह गुरुङलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
अदालतको फैसलाअनुसार बाँकी कैद भुक्तान र जरिवाना असुल गर्न उनलाई कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार गुरुङलाई कात्तिक ७ गते फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनलाई कात्तिक ९ गते आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतको आदेशपछि कैद भुक्तान र जरिवाना असुल गर्न कारागार कार्यालय स्याङ्जा पठाइएको डिएसपी अवस्थीले जानकारी दिए ।
स्याङ्जा जिल्ला अदालतले २०७६ वैशाख १२ गते बहुविवाह मुद्दामा गुरुङलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध पुनरावेदन परेपछि उच्च अदालत पोखराले २०७६ मंसिर ९ गते जिल्लाको फैसला सदर गरेको थियो ।
मुद्दाको अनुसन्धानका क्रममा गुरुङ २०७५ साउन ६ देखि साउन २६ गतेसम्म २१ दिन प्रहरी हिरासतमा बसेका थिए । उक्त अवधि कुल कैदबाट कट्टा गर्दा उनले ११ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रहेको र पाँच हजार रुपैयाँ जरिवानासमेत असुल गर्नुपर्ने प्रहरीले जनाएको छ ।















